0 COMMENTS

असोज ६, काठमाडौँ ।  आजबाट १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ । 

औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका छन् । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् ।

खेलकुदको उद्घाटन खेलमा चीनले नेपालसहित ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड सो महोत्सव उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागी हुने भएका छन् । उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन गएका छन् । 

खेलकुदमा एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । एसिया ओलम्पिक परिषद्का सदस्यमध्ये आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नहुने भएका छन् ।

विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ । 

एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको यो पहिलो पटक हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । 

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् । त्यसक्रममा हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।