0 COMMENTS

अधिकांश नेपाली कामभन्दा बढी प्रचार र प्रोपगन्डामा रमाउने गरेका छन् । आफूले नगरेका कामको जस लिन खोज्ने र सानो कामलाई पनि ठूलो देखाउने प्रवृत्ति हामीमा रहेको छ । कर्मचारी, जनप्रतिनिधि तथा मन्त्रीहरुमा यो प्रवृत्ति अझ बढी नै देखिने गरेको छ । तर संघीय सरकारका एक मन्त्री त्यसको अपवाद बनेका छन् । उनी हुन्, गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।उनी चुपचप काम गरिरहेका छन् । त्यसको परिणम पनि देखिइरहेको छ । तर सस्तो लोकप्रियताबाट रमाउने प्रवृतिबाट उनी टाढै देखिन्छन् । नागरिकता तथा राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्रालयबाट बाहिरिएपछि गत चैत्र १७ गते गृहमन्त्री बनेका श्रेष्ठले छोटो समयमै महत्वपूर्ण काम गर्न सफल भएका छन् । अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्ड बाहिरिएको छ । यो प्रकरणका मतियार धमाधम पक्राउ पर्न थालेका छन् । यसमा पूर्वमन्त्रीदेखि बहालवाला सचिवसम्म तानिएका छन् । कोही हिरासतमा छन् त कोही फरार भएका छन् । लामो समयदेखि गुपचुप राखिएको यो विषय श्रेष्ठ गृहमन्त्री भएसँगै बाहिर आएको हो । छानबिन र कारबाहीको पाटो कस्तो होला भन्ने विषय आगामी दिनले देखाउँला तर गृहमन्त्रीको हैसियतमा श्रेष्ठले गरेको आँटको प्रशंशा भएको छ । केही समय अघिसम्म गृहमन्त्री र सचिवले वर्षेनी करोडौँ रुपियाँ बेहिसाव खर्च गर्न पाउने नियम रहेको थियो । श्रेष्ठ गृहमन्त्री भएपछि यो नियम खारेज भयो । लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र बनाउने बहानामा नेपालीको गोप्य सूचना विदेशी कम्पनीले पठाउने गरी ठेक्का दिइएको थियो । मन्त्री श्रेष्ठ त्यो ठेक्का खारेज गर्न सफल भए । तराईमधेश क्षेत्रमा गरिबलाई उठीवास लगाउने मिटरव्याजीलाई कारबाही गर्न मन्त्री श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयले नै पहलकदमी लियो । फलस्वरुप मुलुकी संहिता सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०, राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् । गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलाई विनाहस्तक्षेप काम गर्न दिने नीति अवलम्बन गरेका छन् । त्यसको प्रभाव पनि केही हदसम्म देखिन थालिसकेको छ । उनले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकि नराख्ने बताएका छन् । हालसम्म प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै महिलालाई अझ अधिकार सम्पन्न बनाउन प्रयत्न गरिरहेको उनले बताएका छन् । सरकार र मन्त्रीहरुको कामकारबाहीप्रति वितृष्णा बढिरहेको बेला श्रेष्ठको कामले जनमानसमा साँच्चै आशा जगाउन सफल भएका छन् । नेतृत्वमा रहेकाले चाहने हो भने परिर्वतन सम्भव छ भन्ने उदाहरण पनि उनले दिएका छन् । साथै चर्चा बहिर रहेर पनि उपलब्धि दिन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् गृहमन्त्री श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।