0 COMMENTS

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै बाल, युवा, प्रौढ र वृद्धावस्था हुँदै एकदिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तर्विरोधलाई पार्टीको जीवन ठान्नुभयो । उहाँ भन्नुहुन्छ, “पार्टीभित्र अन्तर्विरोध रहेन र तिनको समाधानका लागि सैद्धान्तिक सङ्घर्ष चलाइएन भने पार्टीको जीवन खत्तम हुन्छ ।”

माओले पार्टीको निर्माण र विकासको सवाललाई अन्तर्विरोधको नियमको आधारमा ग्रहण गर्नुभयो र भन्नुभयो, “हाम्रो पार्टी पनि एकको दुईमा विभाजित बनेको छ ।” नयाँ ढङ्गको पार्टीको निर्माण कसरी हुन्छ ? उहाँले भन्नुभयो– त्यो एकता, सङ्घर्ष र रूपान्तरणका आधारमा सम्पन्न हुन्छ । उहाँले नयाँ ढङ्गको पार्टीको निर्माणका निमित्त शुद्धीकरण आन्दोलनमा जोड दिनुभयो र त्यसको सार खिँच्दै ‘एकताको भावनाबाट प्रेरित हुनु, आलोचना या सङ्घर्षको माध्यमबाट अन्तर्विरोधहरूलाई हल गर्नु र नयाँ आधारमा नयाँ एकता कायम गर्नुपपर्ने’ कुरा बताउनुभयो । उहाँले यसलाई अझै जोडदार रूपमा भन्नुभयो– ‘हामीले एकताको पुरानो आधारलाई ध्वस्त पानुपर्दछ, सिधै सङ्घर्षमा जानुपर्दछ र नयाँ आधारमा नयाँ एकता हासिल गर्नुपर्दछ । कुन कुरा सही हो, पानी नबग्ने पोखरी या अघि बढ्ने याङ त्से नदीको अनन्त धाराप्रवाह ? पार्टी यसै दिशामा छ, जनता र वर्ग पनि यसैमा छन् ।’ माओले पार्टीलाई पानी जमेको शान्त पोखरी नभई गर्जदै अघि बढ्ने याङ त्से नदीको अनन्त धाराप्रवाहको रूपमा लिनुभयो । माओको पार्टी एकता, नयाँ ढङ्गको पार्टी वा पार्टीको विकाससँग सम्बन्धित कुराको व्याख्या विपरितहरूको एकताको नियममा आधारित छ । तद्नुसार प्रथम अवस्थामा विपरितहरू परस्पर सङ्घर्ष गर्दै एकजुट हुन्छन् र दोस्रो अवस्थामा ती एक अर्कामा बदलिन्छन् । यसरी एकता, सङ्घर्ष र रूपान्तरणका रूपमा हुने परिवर्तनलाई माओले गुणात्मक परिवर्तनको रूपमा लिनुभएको छ र त्यसैले त्यसलाई ‘नयाँ आधारमा नयाँ एकता’ बताउन पुग्नुभएको छ । उहाँले पार्टीको यसप्रकारको विकासलाई घट्नु र बढ्नुका रूपमा हुने क्रमिक विकास वा मात्रात्मक विकासका अर्थमा नभई ‘एकताको पुरानो आधारलाई ध्वस्त’ पारेर गरिने विकासको अर्थमा अर्थात् छलाङको अर्थमा ग्रहण गर्नुभएको छ र पार्टी जीवनको यो क्रम लगातार उच्चस्तरमा विकसित हुँदै जाने कुरा बताउनु भएको छ ।

अन्तसङ्घर्ष वा दुईलाइन सङ्घर्षको सञ्चालनका क्रममा माओले विपरीत तत्वहरूको एकता अर्थात् एकको दुईमा विभाजनको प्रश्नलाई निकै गम्भीरतापूर्वक लिनुभयो । गल्ती गर्ने साथीहरूप्रति कस्तो रुख हुने ? उहाँले भन्नुभयो– ‘पहिलो सङ्घर्ष गर्ने र दोस्रो उसलाई सघाउने ।’ पार्टीभित्र रहेका गलत विचारहरूलाई परास्त गर्न र साथीहरूलाई सच्याउनका लागि माओले पार्टीमा बारम्बार शुद्धीकरण आन्दोलन चलाउनुभयो । विचारधारात्मक सङ्घर्षलाई निकै प्रश्रय दिनुभयो । उहाँले एकता, सङ्घर्ष वा रूपान्तरणको पद्धतिको राम्रो प्रयोग गर्नुभयो । उहाँले भविष्यमा गल्तीबाट बच्नका निम्ति अतीतका गल्तीबाट सिक्ने र रोगीलाई बचाउनुका निम्ति रोगको उपचार गर्ने सिद्धान्तमा जोड दिनुभयो । साथै, उहाँले कुन कुरामाथि पनि जोड दिनुभयो भने ट्राटस्की, छन् त्यु श्यू, च्याङ् क्वो थाओ, ल्यू शाओ ची, ख्रुश्चेभ जस्तासँग यो तरिका सम्भव छैन । माओले फुटका विरुद्ध एकतामा जोड दिनुभयो, परन्तु उहाँ सङ्घर्षबिनाको एकता– एकमना एकताको कडा विरोधी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘एकमना एकता’ बारेमा कुरा गरिरहने तर सङ्घर्ष’ बारेमा कुरा नगर्ने मार्क्सवादी–लेनिनवादी होइन ।’ उहाँ पार्टीभित्र कुनै सन्त वा शतप्रतिशत माक्र्सवादी हुन नसक्ने र एउटा व्यक्ति पनि विश्लेषणको पात्र हुने अर्थात् त्यो पनि सही र गलतमा विभाजित हुने कुरा बताउनुहुन्थ्यो ।

दुईलाइन सङ्घर्षको द्वन्द्ववादमा माओ निकै कुशल हुनुहुन्थ्यो । उहाँ एकातिर ‘हरेक कार्यनीतिक चरणमा सङ्घर्ष चलाउनुका साथै सम्झौता गर्नु पनि आवश्यक रूपमा सही हुन्छ’ भन्न पुग्नुहुन्थ्यो । कैयौँ कमरेडहरूको विरोध हुँदा हुँदै पनि उहाँ सातौँ महाधिवेशनको केसमा वाङ मिङलाई राख्न तयार हुनुहुन्थ्यो भने अर्कोतिर गलत तत्वहरूलाई छुट दिन हुन्न भन्दै ल्यू, पेग ते हुई जस्तालाई कठोर दण्ड दिन पनि पछि पर्नुहुन्नथ्यो । जब स्थिति जटिल हुँदै जान्छ, जस्तो कि पछिल्ला लुसान कन्फ्रेसन्सनमा लिनप्याओपन्थीहरू एकदमै लुकेर अचानक हमला गर्न आएका थिए, त्यो बेला उहाँ भन्नुहुन्थ्यो– ‘लुसान सम्मेलनपछि मैले तीन तरिकाको प्रयोग गरे : पहिलो– ढुङ्गा हान्नु थियो, दोस्रो– माटोमा बालुवा मिसाउनु थियो र तेस्रो– पर्खालहरूमा सुरुङ बिच्छ्याउनु थियो ।’ यसरी दुईलाइन सङ्घर्षमा द्वन्द्ववादको प्रयोग गर्दा उहाँ कहिले निकै कडा, कहिले निकै नरम, कहिले बाङ्गोटिङ्गो मोडको रफ्तारसंगै निकै वक्र र घुमाउरो पनि बन्ने गर्नुहुन्थ्यो । परन्तु, सिद्धान्त र कार्यदिशाको प्रश्नमा उहाँ दृढ हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘कार्यदिशा र सिद्धान्तका प्रमुखका प्रमुख प्रश्नमा मैले कुनै छुट दिइनँ ।’

पार्टीभित्र उहाँ उग्रवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध, विशेषतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण तरिकाले जुध्नुभयो । उहाँले जनता र आन्दोलनका बिचमा देखा पर्ने प्रवृत्तिहरूलाई उग्र, दक्षिण र मध्यका रूपमा विश्लेषण गर्नुभयो । यस सन्दर्भमा उहाँले सन् १९६२ यता पार्टीमा ‘रूपमा वाम र सारमा दक्षिण’ को रूपमा प्रकट अवसरवादको पनि उल्लेख गर्नुभयो र ती सबैका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो । विभिन्न प्रवृत्तिसँगको अन्तर्सङ्घर्ष वा दुईलाइन सङ्घर्षमा कस्तो रुख अपनाउने, त्यस बारेमा उहाँले भन्नुभयो– बिचका मानिसहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्दछ र दक्षिणपन्थीहरूलाई एक–एक गरेर प्रहार गर्दै जानुपर्छ । उहाँले संशोधनवादलाई पुँजीवादी विचारधाराकै एउटा रूप बताउनुभयो र त्यसको साम्राज्यवादसँग अटुट सम्बन्ध रहेको कुरामाथि प्रकाश पार्नुभयो ।

माओले पार्टीभित्रको दुईलाइन सङ्घर्षले सत्रुतापूर्ण रूप लिन सक्ने, असल पक्षमाथि खराब पक्षको विजय हुन सक्ने र एउटा क्रान्तिकारी पार्टी संशोधनवादी पुँजीवादी पार्टीको रूपमा बदलिन सक्ने कुरामाथि राम्रो प्रकाश पार्नुभयो । उहाँले सन् १९६२ मा भन्नुभएको थियो– ‘मार्क्सवाद–लेनिनवाद र संशोधनवादका बिचको सङ्घर्षमा कसको जित र कसको हार हुने भन्ने कुरा अझै अनिश्चित छ । यहाँनेर कुन कुराको प्रबल सम्भावना छ भने संशोधनवाद विजयी बन्नेछ, हामी हार्नेछौँ ।’ यसको अर्थ के हो भने पार्टीभित्रको एकता, सङ्घर्ष र रूपान्तरणको क्रममा गलत पक्षले सही पक्षलाई हराउन सक्छ र त्यो परिवर्तन गुणात्मक ढङ्गले उल्टो दिशामा पनि हुन सक्छ । माओको के जोड रह्यो भने यद्यपि यो अस्थायी चीज हो, परन्तु त्यसप्रकारको खतराप्रति जनता र कार्यकर्ताहरूलाई पूरै सतर्क पार्नु आवश्यक छ । चीनमा जब दुईलाइन सङ्घर्ष चर्कदै गयो र त्यसले पटक–पटक सत्रुताको रूप लिन थाल्यो, त्यो परिस्थितिमा माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नुभयो, जसको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु थियो, संशोधनवादको मूलोच्छेदन गर्नुभएको थियो ।

यस सन्दर्भमा उहाँले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकतासम्बन्धी प्रश्नमा अत्यन्तै ध्यान दिनुभयो । ख्रुश्चेभ आधुनिक संशोधनवादमा पतन भएपछि उहाँको निर्देशनमा रुसी पार्टीलाई जुन पत्र पठाइयो, त्यसमा फुट र फुटवाद र एकताको प्रश्नमा राम्रो प्रकाश पारिएको छ । फुटवादी कुन हो ? त्यसको सिद्धान्तसित, मार्क्सवाद–लेनिनवादसित, क्रान्तिकारी सर्वहारावादी पार्टीसित फुट्ने तथा संशोधनवाद, संशोधनवादी कार्यदिशा, सुधारवादी बुर्जुवा पार्टीमा गिर्नेलाई फुटवादी बताइएको छ र सच्चा कम्युनिस्टहरू कहिल्यै पनि फुटवादी हुँदैनन् भन्ने कुरामा जोड दिइएको छ । सो पत्रमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एकता र फुटका अनुभवहरूलाई संश्लेषण गर्दै भनिएको छ– ‘एकता, सङ्घर्ष र फुटसम्म पनि र नयाँ आधारमा नयाँ एकता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद यस्तै छ ।’ ‘एकता, सङ्घर्ष या फुटसम्म पनि नयाँ आधारमा नयाँ एकता’ : यो नयाँ ढङ्गको पार्टी निर्माण तथा विकाससम्बन्धी माओवादी मान्यताको एक मूल विशेषता हो । यसले पार्टीको विकास प्रक्रियालाई एकता र सङ्घर्षसम्म मात्र सीमित राख्दैन, अपितु रूपान्तरण, छलाङ र नयाँ आधारमा नयाँ एकता कायम गर्दै निरन्तर विकसित हुँदै जाने अर्थमा ग्रहण गर्दछ । यसरी माओ क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको निम्ति कम्युनिजम र क्रान्तिको उज्ज्वल भविष्यको निमित्त भीषण वर्गयुद्ध र दुईलाइन सङ्घर्षहरूमा भिड्नुभयो । नयाँ ढङ्गको पार्टी निर्माणसम्बन्धी माओवादी मान्यताको विकास पनि ठीक यसै भिडन्तको क्रममा भयो । यी भीडन्तहरूमा उहाँ डग्नुभएन र यसै भिडन्तमा जानुलाई अर्थात् ज्वारभाटाको विरुद्ध जानुलाई उहाँले मार्क्सवाद–लेनिनवाद बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।