0 COMMENTS

चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र मतदान गर्ने अधिकार पाँउछन् । नागरिकता बनाएकै ठाँउमा भोटर लिष्ट हुन्छ । एउटा जिल्लाको नागरिकले अर्को जिल्लामा गएर भोट हाल्न पाँउदैनन् । सरकारले दिने भत्ता, सेवासुविधा लिनका लागि आफ्नो भोटर लिष्ट भएकै जिल्लामा जानुपर्छ । यदि बसाइँ सरेको छ भने त्यसको प्रमाणपत्र चाहिन्छ । सरकारले यत्तिकै भत्ता त दिँदैन् भने अर्काको जिल्लामा आएर जग्गा कब्जा गर्न मिल्छ ?

काठमाडौंको अवस्था हेर्दा धेरैलाई आश्चर्यचकित लाग्ने गरेको छ । सुकुम्बासी भन्दै अर्काको जिल्लामा आएर सरकारी र गुठीको जग्गा अतिक्रमण गर्न मिल्छ ? यो त सिधैं काठमाडौंबासीको हकअधिकार छिनेकोजस्तो भएन् र ? अहिले काठमाडौंमा एक आना जग्गाकै करोड पर्न थालिसकेको छ । त्यही लोभमा परेर बाहिरी जिल्लाका बासिन्दाहरुले सुकुम्बासीको नौटंकी रचेका हुन् । आफ्नो गाउँघरको जग्गा पाँच हजार आनामा पनि बिक्री नहुने भएपछि यहाँ आएर सुकुम्बासी भनिएकाहरुले डेरा जमाएका हुन् । सुकुम्बासी बन्नलाई पनि काठमाडौं नै आउनुपर्ने हो ?

नागरिकता जहाँबाट लिएका छन्, त्यही गएर जग्गा माग गर्दा भइहाल्यो । आफ्नो जिल्ला नजाने, काठमाडौंमा बस्नुपर्ने अनि काम नगरिकन आन्दोलन गरेर जग्गा माग्ने ? सुकुम्बासी भन्दै हुकुम्बासीहरुले बागमती किनार घेरेका छन् । अहिले त्यहाँको जग्गा आनाकै करोड होला । सरकारले एक आना जग्गा दियो भने करोड आइहाल्छ भन्ने लोभमा परेर यस्तो काम गरिएको हो । सरकारले सुकुम्बासीको नाम गरेर बसेका हुकुम्बासीलाई कारबाही गर्न नसक्दा सरकारी जग्गा सबै कब्जा गरिसकेको छ । बाहिर जिल्लाका बासिन्दाले आफ्नो हकअधिकार खोस्दा पनि काठमाडौंबासी किन मौन छन् ?

सुकुम्बासीहरु लालपुर्जा चाहियो भनेर निरन्तर आन्दोलन गरिरहेका छन् । त्यत्रो काठमाडौं महानगरपालिकाका नगरप्रहरीलाई कुट्ने कामसमेत भयो । तर, अझैपनि काठमाडौंबासी हातमा दही जमाएर बसेका छन् । काठमाडौंका मेयर बालेन शाहले सुकुम्बासी हटाउन कैयौं पटक कोसिश गरिसकेका छन् । उनले आफू मेयर भएको कर्तव्य पूरा गर्न हरसम्भव गरेका छन् । विडम्बना, काठमाडौंबासीले नै उनको साथ दिएका छैनन् । सुकुम्बासीको समस्या मेयर बालेनको मात्र होइन् । न त महानगर प्रहरी प्रमुख राजु पाण्डेको हो । उनीहरुले त आफ्नो जिम्मेवारी निर्वाह गर्न खोजेका हुन् ।

शहर सुन्दर बनाउन लागेका मेयर बालेन र नगर प्रहरी प्रमुख पाण्डेले वर्षौंदेखि बागमती किनारमा जग बनाएर बसेका सुकुम्बासी हटाउन खोजेका थिए । हिजो पनि धेरै मेयर आए र गए तर कसैले सुकुम्बासी हटाउन खोजे ? बालेनले त कोसिश गरेका थिए । सुकुम्बासी हटायो भने यहाँका बासिन्दाले उक्त जग्गाको प्रयोग गर्न पाँउथे । अहिले काठमाडौंमा कहीकतै खुला ठाँउ छैन् । बुढाबुढीलाई आराम गर्ने ठाँउको अभाव छ । बागमती किनारको जग्गामा भएको घरटहरा हटाएर पार्क निर्माण गर्दा त यहीका बासिन्दाले प्रयोग गर्ने हुन् । मेयर बालेनले सुकुम्बासी हटाएर त्यो जग्गा आफ्नो घरमा लैजाने होइनन् ।

नगर प्रहरी प्रमुख पाण्डेले त्यहाँ घर ठड्याउने होइनन् । काठमाडौंबासीको हक सुनिश्चित गर्नका लागि महानगर प्रहरीले चुटाइ खाए । सुकुम्बासी भनेर सरकारी जग्गा कब्जा गर्ने गुण्डाहरुले राज्यमाथि नै हातपात गरे । तर, काठमाडौंबासी निरीह भएर हेरिरहे । महानगर प्रहरीलाई कुटेको भिडियो हेरे, बसे । उनीहरुले महानगर प्रहरीमाथि हातपात गर्नेबित्तिकै काठमाडौंबासी सडकमा उत्रिनुपथ्र्यो । काठमाडौंबासीले चाहेको भए सुकुम्बासी हटाउन यति साहे सकम पर्दैन्थ्यो । घरघरबाट सुकुम्बासी हटाउनुपर्छ भन्ने आवाज उठेको भए अहिलेसम्म बागमती किनार सफा भइसक्थ्यो ।

यद्यपि, उनीहरुले त्यति पनि आँट देखाएनन् । अन्य जिल्लाबाट आएका व्यक्तिहरुको आँट त हेर । अर्काको जिल्लामा आएर जग्गाको लालपुर्जा मागिरहेका छन् । निरन्तर सडक आन्दोलन गरिरहेका छन् । काठमाडौंबासीलाई उनीहरुले चुनौती दिएका छन् । तर, काठमाडौंबासी डराएर चुइक्क पनि बोल्न सकेका छैनन् । पढेलेखेको व्यक्तिहरु बस्ने काठमाडौंमा आफ्नो हकअधिकारका लागि लड्ने व्यक्ति नै छैनन् । काठमाडौंमा खाली ठाँउ छैन् । सबै घरले डाँकिसकेको छ । अब पनि सार्वजनिक जग्गा नजोगाउने हो भने बालबालिका कहाँ गएर खेल्छन् ?

बुढाबुढीले कहाँ गएर हावा खाने ? अहिले पनि काठमाडौंका अधिकांश सरकारी कार्यालय भाडामा छन् । जग्गाको अभाव हुँदा भाडाको घरबाट सेवा दिनुपर्ने बाध्यता सरकारी कार्यालयलाई छ । महानगरपालिकाकै कुरा गरौं, वडा कार्यालय राख्ने ठाँउको अभाव छ । यस्तो जटिल अवस्था हुँदाहुँदै पनि काठमाडौंबासीले प्रतिकार गर्न सकेका छैनन् । जसले गर्दा सुकुम्बासी भनिएकाहरुको मनोबल झन् बढेको छ । काम नै नगरीकन लालपुर्जा हात पर्ने भएपछि कसले दुःख गर्छ ? सुकुम्बासी भन्ने, राजनीतिक दलको झोला बोक्ने, दादागिरी देखाउने अनि काम नै नगरीकन करोड पर्ने जग्गा चाहिने ?

सरकारले जग्गा किन्न त रोक लगाएको छैन् होला ? हात खुट्टा भएको मान्छेले त काम गर्नुपर्यो नि । आन्दोलन गरेको भरमा सरकारी जग्गा पाइन्छ ? त्यसो त सबैले आन्दोलन गरे भइहाल्यो नि । काठमाडौंमा बस्ने सबै जग्गावाल छन् र ? भाडामा बसेर अधिकांशले दुःख गरेर खाइरहेका छन् । यहाँ कोठाबहालमा लिएर बस्न पाइन्छ । दुःख गर्ने, कोठामा बस्ने, जहिले सकिन्छ जग्गा किन्ने अनि घर बनाउने । सुकुम्बासीको नाममा कसैलाई पनि जग्गा दिनुहुँदैन् । सरकारी सम्पत्तिमा सबैको हक लाग्छ । सबैले सराबरी प्रयोग गर्न पाउनुपर्छ ।

सुकुम्बासी भन्दैमा सरकारको सम्पत्ति दोहन गर्न पाउने अधिकार राजनीतिक दललाई पनि छैन् । मुलुकमा सुकुम्बासी जन्माउने नै राजनीतिक दल हुन् । आफ्नो पार्टी बलियो बनाउनका लागि नेताहरुले यो काम गरेका छन् । त्यति नै जग्गा दिन मन छ भने नेताहरुले आफ्नो व्यक्तिगत सम्पत्तिबाट किनेर दिँदा हुन्छ । सरकारको सम्पत्तिमा आँखा लगाउने र दुरुपयोग गर्ने अधिकार यिनीहरुलाई छैन् । राजनीतिक दलले उचालेर सुकुम्बासी भनिने हुकुम्बासीहरु सडकमा आएको स्पष्ट भइसकेको छ । हातभरि औंठी र गलामा सुनको सिक्री भिरेकाहरु आफूलाई सुकुम्बासी भन्दै हिँडेका छन् ।

सुकुम्बासी भन्दै आन्दोलन गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ । बागमती किनारमा बस्नेहरुसंग नागरिकता त छ होला । हातखुट्टा पनि ठिकठाक नै छ होला । नागरिकता हुने व्यक्ति त पासपोर्ट बनाएर विदेश जान सक्छन् । त्यहाँ गएर कमाउन सकिन्छ । तर, उनीहरु दुःख गर्नै चाहादैनन् । हात बाँधीबाँधी करोड पर्ने जग्गा चाहिएको छ । दुःख नगरीकन जग्गा पाउने भएपछि यहाँ कोचाँहि सुकुम्बासी बन्दैन् । सरकारी जग्गा कब्जा गर्ने यस्ता व्यक्तिहरुलाई सरकारले राज्य दोहनको मुद्दा लगाउनुपर्छ । धमाधम समात्दै मुद्दा लगाउँदै गरेपछि मात्र यिनीहरुको चेत खुल्छ ।

यहाँ सबै करोडपति त छैनन् । सबै जग्गावाल त होइनन् । बिहानबेलुका खान नपुग्नेहरु पनि छन् । उनीहरुले त आफ्नो दुःख गरेर खाइरहेका छन् । ऋण खोजेर विदेश गएका छन् । रातदिन नभनिकन काम गरेर जग्गा जोडेका छन् । कहीकतै जग्गाको टुक्रा नभएकाहरुले दुःख गरेर सम्पत्ति कमाएका छन् । लुटेरा, फट्याहा र सरकारी सम्पत्ति दोहन गर्नेहरु मात्र यसरी सुकुम्बासी भन्दै दौडिएका छन् । सुकुम्बासी भनेका छन् तर निजी गाडी चढ्ने क्षमता उनीहरुसंग छ । मँहगा लुगा लगाएका छन् । सुनैसुनले ढाँकिएका उनीहरुलाई सरकारले के आधारमा सुकुम्बासी भन्ने ?

छोराछोरी डाक्टर, इञ्जिनियर छन् तर आफूलाई सुकुम्बासी भन्दै हिँडेका छन् । सरकारले सुकुम्बासीलाई जग्गा दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । सुकुम्बासीको नाममा भूमि सुधार मन्त्रालयले बाँडेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ । सरकारले भूमि आयोग त खारेज गरिदिएपनि हुन्छ । आयोगमा बस्ने झोलेहरुको कारण पनि सुकुम्बासीहरु बढ्दै गएका छन् । सुकुम्बासीको नाममा मुलुकमा बेतिथि मौलाएको छ । सरकारले अझैपनि सुकुम्बासी नहटाउने हो भने अवस्था जटिल हुन सक्छ । अब महानगर प्रहरीले आँट गरेरै सुकुम्बासी हटाउनुपर्छ ।

सरकारमा बसेका माफियाहरुसंग जनतालाई अलिकति पनि अपेक्षा छैन् । काठमाडौंका मेयर बालेन र महानगर प्रहरी प्रमुख पाण्डेले थालेको काम निकै राम्रो छ । सुकुम्बासी जसरी पनि हटाउनुपर्छ । बिहानै डोजर लिएर सुकुम्बासी हटाउन महानगर प्रहरी पुग्नुपर्छ । काम गर्न थालेपछि धेरै अप्ठ्यारा परिस्थिति आँउछन्, त्यसलाई चिर्दै अघि बढेमा अवश्य पनि सफल पाइन्छ । यदि महानगरपालिकाले सुकुम्बासी हटाउन सक्यो भने योभन्दा ठूलो उपलब्धि केही पनि हुँदैन् । शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यका विकास प्राधिकरणले महानगरलाई यो काममा साथ दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।