करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न, युगको विश्लेषणको प्रश्न, नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्ने प्रश्न, कमरेड माओका योगदानलाई मूल्यांकन गर्ने प्रश्न, आजको पूँजीवाद तथा दक्षिणपन्थी संशोधनवादको चरित्रलाई हेर्ने प्रश्न, नेपाल तथा विश्व कम्युनिष्ट आन्दोलनको आत्मगत तथा वस्तुगत अवस्थालाई मूल्यांकन गर्ने प्रश्नलगायतका कैयन विषयमा सार्वभौम सहमति कायम भएको थियो । त्यसका साथसाथै लेनिनवादी संगठनात्मक प्रणाली, कार्यनीति तथा रणनीतिका विषयमा पनि विमति रहेन । सैद्धान्तिक र वैचारिक रुपमा धेरै कुरामा अन्तर नभएपछि पार्टी एकताका लागि ढोका खुलेको थियो । त्यसैक्रममा गत साल अप्रेल मसान्तमा तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) का बीचमा एकता अधिवेशन सम्पन्न भयो । तदनुरुप गत सालको मई १ का दिन पार्टी एकताको घोषणा भई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको जन्म भएको थियो । एकीकृत पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राख्नुपर्छ भन्ने कुरामा तीन पार्टीका बीचमा पहिल्यै सहमति भइसकेको थियो । त्यतिबेला नेकपा (मशाल) र क्रान्तिकारी माओवादी तथा बहुमतका बीचमा रहेका केही मतभेद समाधान हुन बाँकी रहेको लगायतका कारणले मशाल गत साल पार्टी एकतामा सामेल हुन सकेको थिएन । तर एकता वार्ता जारी राख्ने सहमति भएको थियो ।
तदनुरुप वि.स. २०८० असोजमा नेकपा (मशाल) को राष्ट्रिय परिषद्को बैठक बस्यो । सो बैठकले पार्टी एकता सम्बन्धी तीन सदस्य रहेको वार्ता समिति गठन गर्यो र पार्टी एकतासम्बन्धी वार्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गर्यो । त्यसपश्चात पार्टी एकता सम्बन्धी वार्ता घनीभूतरुपमा अगाडि बढ्यो । त्यस सिलसिलामा संघीयता सम्बन्धी मतभेद रहेको थियो । त्यसमा अहिले जातीय क्षेत्रीय स्वशासन र स्थानीय स्वायत्त शासनलाई अफिसियल लाइन बनाएर जाने र संघीयताको विषयमा खुला छलफल गर्दै अगाडि बढ्ने निर्णय भएको छ । अर्को सुल्झन नसकेको विषय पथप्रदर्शक सिद्धान्त माओवाद कि माओ विचारधारा भन्ने थियो । एकता प्रक्रियामा सामेल दुबै पार्टीले माओका योगदानहरुलाई सार्वभौम योगदान स्वीकारीसकेपछि माओवाद या विचारधाराको प्रश्न पदावली के राख्ने भन्ने कुरामा मात्र लक्षित हुन गयो । त्यसकारण माओवाद/विचारधारालाई आमलाइन बनाउने र यो विषयलाई पनि खुला छलफलको विषय बनाउने निर्णय भयो । वि.स. २०५२ फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षलाई ऐतिहासिक माओवादी जनयुद्ध भन्ने लाइनलाई अफिसियल लाइन बनाउने र माओवादी जनयुद्धको मूल्यांकनको विषयलाई पनि छलफलको विषय बनाउने निर्णय भयो । नेकपा (मशाल) को राष्ट्रिय भेलाले पार्टी एकता गर्ने फैसला गर्यो । निश्चय नै पार्टी एकता वार्ता केही कुरा ग्रहण गर्ने र केही कुरा परित्याग गर्ने सिद्धान्तमा आधारित हुन्छ । यसै सिद्धान्तको जगमा उभिएर हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको एकताको ऐतिहासिक कार्यभार पूरा गरेका छौं । यो युगको माग र समयको धड्कन दुबै हो ।
कतिपय मानिसहरुले खुला छलफलले पार्टीमा दरारहरु कायम राखिरहन्छ । एकता बलियो हुँदैन भनेको पनि पाइन्छ । त्यस्तो विचार अधिभूतवादी चिन्तन प्रणालीको उपज हो । पार्टी एकतालाई मजबुत बनाउन छलफलले एउटा तार्किक निष्कर्षमा पुर्याउन मद्दत नै गर्दछ । हामीलाई यो पनि अनुभव छ । वि.स. २०५७ मा तत्कालीन नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) का बीचमा १६ वटा मतभेदका बुँदाहरु थाँती राखेर पार्टी एकता भएको थियो । पार्टी एकतामा इमानदारीता थिएन । ती मतभेदका १६ बुँदामध्ये एउटा बुँदामा पनि छलफल भएन । अरु नै कारणले चार वर्षपछि पार्टी फुटेको थियो । हामीले सकारात्मक सोच राखेर ‘हामी पो भ्रममा छौं कि’ भन्ने प्रश्नलाई केन्द्रमा राखेर सिर्जनात्मक, अनुशासित र मित्रवतढंगले छलफल तथा विमर्शलाई अगाडि बढायौं भने छलफलले घाटा होइन फाइदा नै पुर्याउँछ । रुस र चीनका कम्युनिष्ट पार्टीहरु छलफल तथा वहस अनि अन्तरसंघर्षको आँधीबेहेरीबाटै अगाडि बढेका थिए । विचार र लक्ष्यको जगमा एक ढिक्का भएका थिए र नै क्रान्ति सम्पन्न गर्ने अभिभारा पूरा गरेका थिए । इतिहास एउटा सवक सिकाउने पाठशाला हो । इतिहासको सही मूल्यांकनविना भावी कार्यदिशा तय गर्न सकिन्न । इतिहासको मूल्यांकन हरेक कोणबाट भइहाल्छ । क्रान्तिकारीहरुले नै महान सर्वहारा सांस्कृतिक क्रान्तिको सकारात्मक तथा केही नकारात्मक मूल्यांकन गरेका छन् । समाजवाद निर्माण प्रक्रियामा स्टालिनबाट भएका केही कमी कमजोरीको विषयमा माओले इतिहासको मूल्यांकन गरेका छन् । माओले गरेको मूल्यांकनका विषयमा विश्व क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको शिविरमा थप मूल्यांकनहरु भएका छन् । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा यस्ता धेरै उदाहरणहरु छन् । आफ्ना पूर्व निर्धारित मान्यता मात्र ठीक छन् भन्ने जडता र पूर्वघटकीय मान्यताको धङधङीबाट माथि उठेर हामीले मतभेदहरुलाई ठीक ढंगले अगाडि बढायौं भने हामी एउटा सही तार्किक निष्कर्षमा पुग्नेछाैँ र हाम्रो पार्टी एकता मजबुत भएर अगाडि बढ्नेछ । कम्युनिष्ट पार्टी भनेको विपरीत तत्वहरुका बीचको एकत्व हो । फरक पार्टीका बीचमा रहेको मतभेद र अन्तरविरोधहरुलाई पूर्णरुपमा हल गरेर मात्र एकता गर्नपर्छ भन्ने जड मान्यता माक्र्सवादी लेनिनवादी मान्यता होइन अधिभूतवादी मान्यता हो । एउटा जीवित कम्युनिष्ट पार्टीमा छलफल पश्चात कतिपय मतभेद र अन्तरविरोधहरु समाधान हुन्छन् फेरि नयाँ मतभेद र अन्तरविरोधहरु सिर्जना हुन्छन् । छलफल हुन्छ । छलफलले एउटा निष्कर्षमा पुर्याउँछ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीको मूल अभिभारा फरक–फरक विचार, मत र दृष्टिकोणहरुलाई लेनिनवादी संगठनात्मक प्रणाली अनुरुप व्यवस्थित, अनुशासित अनि मित्रवत् बनाउनु हो । यो कार्यमा साधारण पार्टी सदस्यदेखि नेतृत्वसम्मको सकारात्मक भूमिका, सुझबुझ र योगदान आवश्यक हुन्छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका सबै सदस्यहरु एकजुट भएर पार्टी एकतालाई मजबुत बनाउँदै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एउटा उचाइमा पुर्याउनु नै हाम्रो तत्कालको मुख्य अभिभारा हो । आज हाम्रा अगाडि इतिहासले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुने, आम शोषित पीडित जनतालाई क्रान्तिकारी आन्दोलनमा गोलबन्द बनाउने, वर्ग दुश्मनका विरुद्धमा वर्ग संघर्षलाई सशक्त बनाउने, संशोधनवादको भण्डाफोर गर्ने, भ्रष्ट संसदीय व्यवस्थाका विरुद्धमा धावा बोलेर निर्णायक प्रहारको तयारी गर्ने आदि अभिभारा सुम्पेको छ । त्यसकारण सानातिना मतभेदका कुरा तथा व्यावहारिक असमझदारीका कुरामा नअल्झिकन अगाडि बढ्न जरुरी छ । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, प्रयोग, विकास र रुपान्तरणको प्रक्रियामा अगाडि बढेमा मात्र मुलुकमा नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै मुलुकलाई वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको दिशामा लैजान सकिनेछ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र क्रान्तिकारी संघर्षलाई व्यवस्थित र एकतावद्ध बनाउने प्रश्नमा हामीले एकताको स्पिरिटलाई आत्मसात गरेर कार्यसम्पादन गर्न सक्यौं भने चुनौती कम र सम्भावनाहरु धेरै छन् ।
नेपालको कम्युनिष्ट आन्दोलन फूट र विभाजनका लामा लामा कथा र व्यथाहरुले भरिएको छ । सैद्धान्तिकरुपमा कतिपय फूट र विभाजन सही पनि हुन सक्छन् । त्यो एउटा विशेष भड्काव वा गम्भीर पथविचलनको अवस्थामा मात्र सत्य हो । त्यस सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनमा रायमाझीको राजावादी लाइन र सोभियत संशोधनवादी धारका विरुद्धको संघर्ष र फूटले मात्र सैद्धान्तिक अर्थ र महत्व राखेका छन् । त्यसका अतिरिक्त नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक भएका धेरै फूट तथा विभाजनहरुले आन्दोलनलाई निकै ठूलो क्षति पुर्याएका छन् । समग्रमा हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन फूटको इतिहास हो । एकताको इतिहास होइन । नेपालको कम्युनिष्ट आन्दोलनको शिविरमा भइरहने गरेका फूट तथा विभाजनले एउटा गजबको संस्कृति निर्माण भएको छ । त्यो संस्कृति हो एकतामा रुने तर फूट तथा विभाजनमा रमाउने संस्कृति । त्यसका साथसाथै अर्को संस्कृतिको पनि विकास भएको छ । त्यो संस्कृति हो प्रतिक्रियावादी तथा संशोधनवादी शक्तिहरुको एकतालाई स्वागत गर्ने तर क्रान्तिकारी शक्तिहरुकाबीचको एकतालाई आलोचना, निन्दा र भत्सर्ना समेत गर्ने संस्कृति । अर्को संस्कृति हो प्रतिक्रियावादी वा वर्गदुश्मनको नेतृत्व गर्ने पार्टीसित सत्ता गठबन्धन गर्ने र सहयोद्धा कमरेडहरुलाई हिर्काउने संस्कृति । त्यसका साथसाथै कम्युनिष्ट पार्टीलाई अवान्छित ढंगले व्यक्तिगत आर्थिक संकलन गर्ने मञ्चका रुपमा उपयोग गर्ने संस्कृति । पार्टीको आडमा परिवारको सामान्य व्यवस्थापन मात्र होइन । वर्ग उत्थानकै दिशामा वेग हान्ने संस्कृतिले नेपाली कम्युनिष्ट आन्दोलनलाई वुर्जुवाकरण गर्दै लगेको छ । परिश्रम गर्ने बानी, वर्गीय माया, सामूहिक भावना तथा दुःख सुख साटासाट गर्ने माक्र्सवादी वैचारिक सांस्कृतिक मूल्यमा डरलाग्दो गरी विघटन आएको देखिन्छ । त्यसो त नेपाली कम्युनिष्ट आन्दोलनलाई सांस्कृतिक तहबाटै पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । यो एउटा कठिन काम हो । तर सच्चा माक्र्सवादी लेनिनवादीहरुले नगरी नहुने काम पनि हो । यो समस्या क्रान्तिपछि पनि प्रकट हुने समस्या हो ।
सन् १९६६ मा चीनमा माओत्सेतुङलाई महान सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा त्यत्तिकै उठाउनुपरेको थिएन । त्यसका लागि पार्टीले माक्र्सवादको रक्षा, प्रयोग, विकास र रुपान्तरणमा आधारित प्रशिक्षणहरु सञ्चालन गर्नुपर्दछ । एउटा क्रान्तिकारी माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणको निर्माणमा जोड लगाउन कम्युनिष्ट आचरण विधि निर्माण गर्न आवश्यक छ । व्यवहार कुशल, सैद्धान्तिक वैचारिक स्तर भएका नेता कार्यकर्ताहरुले मात्र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन सक्छन् । एकतामा रुने फूटमा रमाउने, वर्गदुश्मनको पार्टीसित गठबन्धन गर्ने सहयोद्धा साथीहरुलाई हिर्काउने, संशोधनवादी र प्रतिक्रियावादी पार्टीहरु एकतावद्ध भए भने स्वागत गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको एकता भयो भने निदहराम हुने, मेरा कुरा मात्र सही हुन् तिनै कुरामा मात्र सहमत भएपछि मात्र एकता गर्ने भन्ने धारणा राख्ने जस्ता विचारहरुको सांस्कृतिक चरित्र कम्युनिष्ट आन्दोलन भित्रको ध्वंसात्मक सांस्कृतिक चरित्र हो । हेर्दा फरक–फरक देखिए तापनि तिनको प्रवृत्तिगत दृष्टिकोण एउटै हो । त्यस प्रकारको ध्वंसात्मक चिन्तन प्रणालीमा सामन्तवादी चिन्तन प्रणाली अन्तरघुलित भएको हुन्छ । एकताका पक्षधर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रत्येक सदस्यहरुले यो स्तरहीन ध्वंसात्मक संस्कृतिका विषयमा ज्यादा चिन्ता गर्न जरुरी छैन । यस्ता चिन्तनहरु पानीको फोका जस्तै देखिन्छन् र हराउँदै जान्छन् ।