0 COMMENTS

जेठ ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश नं. तीन को एकता अधिवेशन सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकताबाट नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश तीन को एकता अधिवेशन सम्पन्न गरेको हो । पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनले पार्टीका कार्यालय सदस्य अटलको संयोजकत्वमा २०३ सदस्यीय प्रदेश संगठन समिति निर्माण गरेको छ ।

एकता अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक कञ्चनले नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर दुई क्रान्तिकारी पार्टीबिच एकता गरिएको बताउनु भयो । उहाँले अन्तरिम कालको लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद/माओविचारधारामा सहमति गरिएको, दशवर्षे जनयुद्धको क्रममा भएका कतिपय उग्रवामपन्थी प्रकारका घटनाक्रमको समीक्षा गर्ने र संघीयताको सवालमा जातीय क्षेत्रीय तथा स्थानीय स्वशासनको नीति लिने विषयमा आधारभूत सहमति गरिएको पनि जानकारी दिनुभयो । उहाँले एकता, संघर्ष र रुपान्तरणको विधिका आधारमा पार्टीको आगामी महाधिवेशनबाट पार्टीको विचारधारात्मक तथा राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशालाई थप विकसित गरी क्रान्तिको तयारीको दिशामा पार्टीलाई अगाडि बढाइने पनि स्पष्ट पार्नुभयो ।

उहाँले विचार, राजनीति, संगठन र संघर्षका साथै भावनात्मक रुपले पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने कार्यभार पूरा गर्न पार्टीपंक्तिलाई अनुरोध पनि गर्नुभयो ।

त्यसैगरी पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको तर आत्मगत परिस्थिति कमजोर रहेको अहिलेको अवस्थामा दुई पार्टीबिचको यो एकताले आत्मगत अवस्थालाई सवल र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ परिस्थिति अनुसार क्रान्तिको कार्यभार पूरा गर्ने खालको राजनीतिक तथा फौजी कार्यदिशा विकास गरेर जानुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै पार्टीपंक्तिलाई आ–आफ्नो ठाउँबाट सकारात्मक योगदान गर्न अपिल पनि गर्नुभयो ।

पार्टीका कार्यालय सदस्य सागरले क्रान्ति र प्रतिक्रान्ति सँगसँगै आउने भन्दै प्रतिक्रान्तिलाई परास्त गर्नका निम्ति क्रान्तिकारीहरुले अध्ययन, छलफल र बहसलाई सही ढंगले अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उहाँले यथास्थितिवाद, संशोधनवाद, अवसरवाद र प्रतिक्रियावादले क्रान्तिकारीहरुका विरुद्धमा विभिन्न खाले भ्रमहरु छरेको र षड्यन्त्रहरुका साथ घेराबन्दी गरिरहेको चर्चा गर्दै त्यसलाई परास्त गर्न माओको तीन गर र तीन नगर भन्ने निर्देशनलाई दह«ोसँग पकड्नुपर्ने बताउनु भयो ।

‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन, खुल्ला र स्पष्ट बन, छलछाम षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफूट’ भन्ने माओको निर्देशनलाई क्रान्तिकारीहरुले पार्टी अनुशासनको रुपमा आत्मसात गर्नुपर्ने उहाँको जोड थियो ।
त्यसैगरी पार्टीका कार्यालय सदस्य दर्पणले संसदीय मोर्चा बनाउनका लागि नभएर क्रान्तिको कार्यभार पूरा गर्नका लागि पार्टी एकता गरिएको स्पष्ट पार्नुभयो । क्रान्तिको कार्यभार पूरा गर्नका निम्ति समान विचार राख्ने सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीका कार्यालय सदस्य तथा प्रदेश १ का संयोजक निर्मलले एकता अधिवेशनमा बधाई तथा शुभकामना मन्तव्य राख्दै क्रान्तिको कार्यभार पूरा गर्नको लागि विगतमा भएका सबै युद्ध, आन्दोलन तथा संघर्षहरुको समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको अध्यक्षतामा सम्पन्न भएको एकता अधिवेशनको सञ्चालन पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक शरदले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका सल्लाहकारहरु सुर्या थापा, मोदनाथ मरहठ्ठा लगायतको उपस्थिति रहेको थियो । एकता अधिवेशनमा स्वागत मन्तव्य पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक प्रभातले राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रमका सञ्चालक शरदले केन्द्रीय परिपत्रको वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।