0 COMMENTS

वैशाख २३, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले गर्नुभएको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिनुभएको छ । विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिनुुभएको छ ।

मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बस्नुभएको छ । सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत घोषणा गरेपछि नेपाली कांग्रेसका सदस्यले बैठकस्थलमा नै नाराबाजी गरेका थिए । यसअघि बैठकमा मुख्यमन्त्री अधिकारीले राख्नुभएको विश्वासको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

गत चैत २५ गते सभामुख धिताललाई समेत गणना गरेर मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिँदा पनि सभामुखलाई प्रयोग गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ जना बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था नै छ ।

संविधानको धारा १६८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । तर, ६० सदस्यीय गण्डकी सभामा बराबर नै नहुने र ३० नै बहुमत हुने सत्तारुढ दलहरुको तर्कअनुसार सभामुख प्रयोग भएर अधिकारीलाई विश्वासको मत दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।