0 COMMENTS

माघ २, काठमाडाैँ । पुस २७ गते दाङकाे भालुवाङमा दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियाे । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका पाण्डेयकाे पार्थिव शरीरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले पार्टीको झन्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।

दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएकाे अध्यक्ष पाण्डेयकाे पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला याेगी, छाेरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरू, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा संस्कृतिकर्मी, राजनीतिकर्मी, प्राध्यापक, शिक्षक, पत्रकार, वुद्धिजीवी, उहाँका विद्यार्थीहरू, शुभेच्छुक, आफन्तजन, परिवार इष्टमित्र, साथीभाइ सबैले अबीर र माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नु भएकाे थियाे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले प्रा.डा. ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली दिँदै उहाँकाे निधनबाट मार्क्सवादी साहित्यिक, सांस्कृतिक तथा बाैद्धिक आन्दाेलनकाे क्षेत्रमा अपुरणीय क्षति पुग्न गएकाे बताउनु भयाे । उहाँले याे अत्यन्तै पीडादायी शाेककाे घडीमा शाेकलाई शक्तिमा बदल्नु र दृढतापूर्वक अगाडि बढ्नुकाे विकल्प नरहेकाे बताउनु भयाे ।

श्रद्धाञ्जली कार्यक्रमकाे सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव कवि मित्रलाल पंज्ञानीले गर्नुभएकाे थियाे । आजै प्रा.डा. ताराकान्त पाण्डेयकाे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।