0 COMMENTS

कात्तिक २३, पोखरा । पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने भएको छ । उच्च अदालत पोखराले बुधबार लेकसाइड क्षेत्र चौबिसै घन्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर मंगलबार देवीकुमारी बरालले रिट हालेकी थिइन् ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । उनीहरुको बहस सुनेपछि उच्च अदालत पोखराले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि जिल्ला प्रशासन कार्यालय लगायतका विपक्षीलाई आदेश दिएको छ ।

पोखरा लेकसाइड क्षेत्र चौबिसै घन्टा खोल्ने विषयमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेशसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।