0 COMMENTS

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय खारेजकी माग गर्दै परेको रिटको फैसला सुनाएको छ । आममाफी खारेज गरी पुनः जेल पठाउनु पर्ने मागको पक्षमा सर्वोच्चले फैसला सुनाएको छ । नियन्त्रणमा लिई व्यक्ति हत्या गरेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा भारती शेर्पाले रिट दर्ता गरेकी थिइन् । बुधबार उक्त रिटमाथि सुनुवाइ सकिए थियो ।

रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार सर्वोच्चले अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको छ । योसँगै रिगल पुनः जेल जाने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णय उल्टाइदिएको हो । रिगलको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, लव मैनाली तथा अधिवक्ताहरू सुलभ खरेल, शालिग्राम सापकोटा लगायतले बहस गरेका थिए । २०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

राष्ट्रपतिले आममाफी दिएपछि अबिर जात्रा गरेपछि रिगलको चर्को विरोध हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।