0 COMMENTS

स्याङ्जा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कि स्थायी कमिटी सदस्य एवं संविधानसभा सदस्य माननीय अमृता थापा मगरको पूर्ण सक्रियता र समन्वयमा स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधानसभा सदस्य थापामगरको पहलमा वितरण गरिएको हो । पुतलीबजार नगरपालिकाका १४ वटा सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको थियो। 


सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’ उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाका विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् । यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए  । प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुने समेत धारणा राखेका थिए ।

त्यस्तै विरुवा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई १६९१ थान स्टेसनरी सामान तथा झोला वितरण गरिएको थियो । कार्यक्रम नवज्योति मा.वि.मा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि अनेमसंघ(क्रान्तिकारी) कि अध्यक्ष समेत रहेकी अमृता थापा मगरले वितरण गरिएको शैक्षिक सामाग्रीले बालबालिकालाई अध्ययनमा उत्प्रेरित गरे, यो पहलको सार्थकता हुने भन्दै सहयोगी संस्था विरुवा गाउँपालिका, शिक्षा तथा खेलकुद शाखा सबैलाई धन्यवाद दिनुभएको थियो । विशेष अतिथि पालिका अध्यक्ष सुर्य कुँवरले उक्त पहलको लागि माननीय अमृता थापा र चाईना फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा पालिका अध्यक्ष सुर्य कुँवर, कार्यपालिका सदस्य पहलसिंह वि.क., कावा प्रधानाध्यापक दिपक वाग्ले, शिक्षा तथा शिक्षा शाखा प्रमुख जिवलाल भुषाल, ग्लोवल कर्पोरशन फर डेभलपमेन्टका उत्तम कार्की, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य ध्रुव लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य हिमाल जंघ के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गुरु प्रकाश वाग्लेले गर्नुभएको थियो । त्यस्तै जनजागृति प्रा.वि .मा पनि व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी के.सी.को अध्यक्षता र सहायक प्रधानाध्यापक गिता गाहा मगरद्धारा कार्यक्रम संचालन गरी वितरण गरिएको थियो । सोही दिन पालिकामा रहेको ३३ ओटा सामुदायिक विद्यालयहरुमध्ये ३१ ओटा विद्यालयका सम्बन्धित शिक्षकहरुलाई शैक्षिक सामाग्री हस्तान्तर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।