0 COMMENTS

वैशाख २४, काठमाडौँ । आजबाट सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजेलाई बोलाइएको छ । यो प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पहिलो बैठक हो भने राष्ट्रियसभाको १४ औँ अधिवेशनको पहिलो बैठक हो । यही अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र नयाँ बजेट प्रस्तुत गर्नेछ ।

आज प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०-०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।