असार १७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। मङ्गलबार (असार १७) बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।
निगमले भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको जनाएको छ ।