0 COMMENTS

माघ १६, काठमाडाैँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मङ्गलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए । बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको बताएको छ । बिबिसीले पनि एक डाक्टरलाई उद्धृत गर्दै १५ जनाको मृत्यु भएको समाचारमा लेखेको छ । घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ । त्यहाँ उपस्थित भक्तजनहरूले प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण त्यस्तो घटना भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न शान्त रहन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।