0 COMMENTS

साउन ३, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन ।

हालसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ ।यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरू पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएको असार २८ गते शुक्रबार बिहान वीरगञ्जबाट काठमाडाैँको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडाैँबाट गौरको लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान बचाएका थिए ।

अझै कम्तिमा ४३ जना यात्रु बेपत्ता रहेका छन् । नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।