0 COMMENTS

जेठ १३, खलङ्गा मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका खलङ्गामा सहिद साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनाइएको छ । राप्ती साहित्य परिषद रकुम पश्चिमको नियमित कार्यक्रम रुकुम साहित्यमालाको ११७औँ शृङ्खलाको आयोजना र इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रायोजनामा जनसाहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवस मनाइएको हो ।

२०१३ साल कात्तिक ३ गते देहरादुनमा जन्मिएका साहित्यकार कृष्णसेन जनयुद्धमा सहभागी प्राज्ञिक योद्धा हुन् । जनादेश साप्ताहिक तथा जनदिशा दैनिकका सम्पादक एवम् साहित्यकार सेनलाई २०५९ जेठ ६ गते गिरफ्तार गरेर तत्कालिन सत्ताले महेन्द्र पुलिस क्लबमा हिरासतमा राखी चरम मानसिक एवम् शारीरिक यातना दिएको थियो । चरम यातना दिएर २०५९ जेठ १३ गते हिरासतमै हत्या गरेको थियो । तिनै महान साहित्यिक तथा पत्रकार सेनको सम्झनामा उक्त कार्यक्रमकाे आयोजना गरिएको हो ।

राप्ती साहित्य परिषद रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रलेस नेपालका गिरिप्रसाद बुढा, इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ सदस्य खगेश्वर भण्डारी, त्यसैगरी साहित्यकार खेमराज खड्का, नारायणप्रसाद शर्मा, सत्यनारायण श्रेष्ठ, प्रेमा सेर्पाली, अमृता पुनले आआफ्ना रचना वाचन सहित सेनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सेनको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा खगेश्वर भण्डारीले सेनको चर्चा गर्दै सेनको हत्या गरेर तत्कालिन सत्ताले आफ्नो असली घृणित रुप देखाएको र वर्तमान समयमा पनि सेनको सम्मान गर्न सरकार हिच्किचाएको भन्दै सेनको क्रान्तिकारी स्वरुपको सबैले अनुकरण गर्नुपर्ने बताउनुभयो । त्यसैगरी गिरिप्रसाद बुढाले सेनको चर्चा गर्दै सेनको आदर्श र व्यवहारमा कुनै भिन्नता नभएको तर उनकै सहयोद्धाहरू उनको विचार आदर्शलाई सत्तामा पुगेर लात हानेको कुरा बताउनुभयो । त्यसैगरी सत्यनारायण श्रेष्ठ र नारायण प्रसाद शर्माले पनि सेनको चर्चा गर्नुभएको थियो ।

उक्त कार्यक्रमकाे सहजीकरण सीता बुढामगरले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।