0 COMMENTS

जेठ १०, काठमाडौँ । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बिहीबार बस्दैछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए । प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ। यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन् । बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन् । कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।