0 COMMENTS

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो ।

आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिएका हुन् । गत वैशाख २३ गते जसपा नेपाल विभाजित भएपछि प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपरेको हो ।

प्रधानमन्त्रीले गत वैशाख ३१ गते नै संसद्‍बाट विश्वासको मत लिने जानकारी संघीय संसद् सचिवालयलाई दिएका थिए । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल वैशाख २३ गते विभाजित भएको थियो । जसपाका नेता अशोक राईले ७ सांसदसहित नयाँ दल बनाएपछिको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।