0 COMMENTS

वैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि मङ्गलबार नेपाल आएका अमिर शेख तमिम बिन हमाद अल थानीले आज (बुधबार) प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । यी सबै कार्यक्रमहरु राजा थानी बसेकै होटल सोल्टीमा बिहान १० बजेपछि हुनेछन् ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए ।

सो भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए ।

कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मङ्गलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।