0 COMMENTS

माघ २३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीले विवादित अनिल श्रेष्ठ र प्रकाश श्रेष्ठ (खोप्लाङगे) जग्गाको समस्या हल गर्नको लागि निरन्तर पटक–पटक छलफल, सुझाव सल्लाह दिँदै आइरहेकोले विवादित जग्गाको समस्या हल गर्नु पर्नेमा उल्टै पोखरा महानगरले विवादित जग्गा पार्किङको लागि प्रयोग गरिरहेको भन्दै विवाद हल नभएसम्म उक्त जग्गामा कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्न चेतावनी दिएको छ ।

कास्की जिल्ला संयोजक सुजन आयामले सोमबार प्रेस विज्ञप्तिमार्फत विवादीत जग्गाको समस्या हल गर्ने सन्दर्भमा केही सत्ताधारी नेता, दलाल भू–माफीया र पोखरा महानगरपालिकाको आडमा चलखेल गर्न खोजेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निज भू–माफियालाई जनकारवाही गरिने जानकारी समेत गराएका छन् ।

कास्की जिल्ला संयोजक सुजन आयामले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निरन्तर राष्ट्रियता, जनबजीबिका, जनतन्त्र, भु–माफिया, जल माफिया, प्रकृति स्रोत साधनको दोहन चोरी पैठारी लघुबित्तिय ठक, मिटर ब्यजी, भष्ट्र कर्मचारी लगायत सम्पूर्ण खालका जनता मारा ठकहरुका बिरुद्धमा दृढताका साथ संघर्ष गर्दै आइइरहेको अबगत नै छ । विवादित अनिल श्रेष्ठ र प्रकाश श्रेष्ठ (खोप्लाङगे) जग्गाको समस्या हल गर्नको लागि निरन्तर हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले पटक–पटक छलफल, सुझाव सल्लाह दिँदै आइरहेका थियौँ । यस विवादित जग्गाको समस्या हल गर्नु पर्नेमा उल्टै पोखरा महानगरले विवादित जग्गा पार्किङको लागि प्रयोग गरिरहेको छ । तसर्थ विवाद हल नभएसम्म उक्त जग्गामा कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्न हाम्रो पार्टीले चेतावनी समेत दिन चाहान्छौँ ।’

जिल्ला संयोजक आयामले प्रेस विज्ञप्तिमार्फत डोजर चलाउनुको कारणहरू बुँदागत रूपमा भनेका छन्, ‘विवादित अनिल/प्रकाश (खोप्लाङ्गे) जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले डोजर चलाउनुको कारणहरू :– (१) पोखरा न्यूरोडमा रहेको ९ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही–छाप गरी जग्गा पास गरिएको । (२) २०३५ साल असोज २ गते र असोज ३ गते लिखित पारित कागज हुबहु गरिएको । (३) नेपाल सरकारको नियम कानून अनुसार कुनै व्यक्तिको थैली रित्याउन नपाउने भएपछि विष्णुकुमार श्रेष्ठले आफ्नो दोकानमा काम गर्न राखेको सहोदर साला माधव श्रेष्ठको नाममा लगभग ७ रोपनी जग्गा पास गरेको र बाँकी जग्गा आफ्नो श्रीमती मनकुमारी श्रेष्ठको नाममा पास गरेको । पछि घुमाई फिराई साला माधव श्रेष्ठको नाममा रहेको जग्गा पनि आफ्नै श्रीमती मनकुमारी श्रेष्ठकै नाउँमा पास गरेको । (४) नगर विकासबाट फिर्ता हुने जग्गा पनि हरिबहादुर थापाको नाममा नल्याई सिधै विष्णुकुमार श्रेष्ठको अधिनमा हुने गरी पास गरेको । (५) २ (दुई) रोपनी १२ आना जग्गा आमाको अंश पनि आमालाई जानकारी नगराई किर्ते सहि छाप गरि लिएको ।’

संयोजक सुजन आयामले प्रेस विज्ञप्तिको अन्त्यमा नोटमा भनेका छन्, ‘यो विवादीत जग्गाको समस्या हल गर्ने सन्दर्भमा केही सत्ताधारी नेता, दलाल भू–माफीया र पोखरा महानगरपालिकाको आडमा चलखेल गर्न खोजेमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निज भू–माफियालाई जनकारवाही गरिने समेत जानकारी गराउँदछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।