0 COMMENTS

मङ्सिर २४, काठमाडौँ । महानगरपालिकाको नगर प्रहरीले भाटभटेनीबाट प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको छ । शनिबार प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको ‘क्रिसमस ट्री’ हटाएको हो ।

प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार महानगर प्रहरी बलले सो सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए । यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए । शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो ।

सई गजुरेलले भने-‘हामीले प्लास्टिकका रुखलाइ मात्र हटाएका हौँ, क्रिसमस ट्री हटाएको होइन । प्लास्टिकबाट बनाएका माला, रुख लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार त्यस्ता सामग्री हटाएका हौँ । सबैभन्दा पहिला हामी त्यस्ता सामग्री राख्ने व्यक्तिलाई नै हटाउन अनुरोध गर्छौँ । उहाँहरूले नहटाएमा मात्रै हामीले हटाउने गरेका छौँ ।’

महानगरपालिकाले गएको तिहारमा पनि प्लास्टिकबाट बनेका फूलका माला बिक्री वितरणमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।