0 COMMENTS

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।