0 COMMENTS

कात्तिक २१, भक्तपुर । यस वर्षको दिपावली अथवा तिहार आउन केही दिन मात्र बाँकी छ । तिहारमा किनमेल गर्न वा मनाउन पैसा आवश्यक पर्छ । एकातिर पैसा नभएर व्यापारीले तिहारको सामान हाल्न सकेका छैनन्, अर्कोतिर सर्वसाधारण तिहार मनाउन नसक्ने अवस्थामा पुगेका छन् । कतिपय मानिसहरु त पैसा नभएर दशैंमा समेत गाउँघर फर्किएनन् । उनीहरुले दशैं मनाएनन् । पैसा हुँदाहुदैँ पनि दशैं मान्न नसक्नु, गाउँघर फर्किन नपाउनु, पसलमा सामान हाल्न नसक्नु वा दशैं मान्न नपाउनु योभन्दा दुभाग्य अरु के हुनसछ । सहकारीले बचतकर्ताको खर्बो रकम डुबाइदियो । जसले गर्दा पनि यो वर्षको दशैं अधिंकाशको खल्लो हुन पुग्यो ।

सहकारीका सञ्चालकहरुले वर्षोदेखि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । उनीहरु ढाट्ने र छल्ने मात्र काम गरिरहेका छन् । सहकारीले रकम खाइदिएपछि सर्वसाधारणले यस पटक दशैं–तिहारमा किनमेल गरेनन् । अहिले व्यापारीहरु भन्छन्, ‘नयाँ सामान हाल्न पैसा छैन । पुरानो पनि बिक्री भएको छैन ।’ आफु काम गरेको ठाउँबाट तलब दिएको छैन । सायद, वर्षो बित्न लागेको मानिसहरु बताउँछन् । सहकारीले बचत फिर्ता नगर्दा, काम गरेको ठाउँबाट तलब नआउँदा र व्यापारव्यवसायमा पूरै मन्दी आएपछि दशैंमा समेत अधिंकाशले आफन्तसँग भेटघाट गर्न पाएनन् । किनकि उनीहरुले दशैं नै मनाएनन् । न एकजोर नयाँ कपडा किन्न सके न एक छाक मिठो खान पाए । तिहारमा पनि यस्तै हुने भएको छ । दाजुभाईलाई टीका लगाइदिएपछि दिने सामान किन्न दिदीबहिनीसँग पैसा छैन भने टीका लगाएपछि दक्षिण दिन दाजुभाईसँग पनि पैसा छैन । यसपालिको तिहार मान्न सक्ने अवस्थामा छैनन् सर्वसाधारण ।

आर्थिक मन्दी र काम गरेको ठाउँबाट तलब नदिँदा जनता मारमा परेका छन् । यो वर्षको तिहार घरको आँगनमै आइसकेको छ । बजार भने सुनसान छ । व्यापारीहरु दिनभरमा बहनी समेत नहुने बताउँछन् । अहिले जताततै सटर, कोठा र फ्रल्याट खाली देखिन्छ । जसोतसो पसल सञ्चालन गरिरहेकाहरु पनि तिहार पनि छोड्ने बताउँछन् । ‘दिनभरमा बहनी समेत हुदैँन । व्यापार हुदैँन । घरभाडा महंगो छ । अनि कसरी भाडा तिर्नु ? तिहारमा व्यापार हुन्छ कि भनेर बसिरहेका छौं । तिहारपछि त छोड्ने हो,’ उनीहरु भन्छन् । घरधनीहरु अहिले पनि भाडा घटाउने पक्षमा छैनन् । काठमाडौं उपत्यकाभित्रै टुलेट लेखिएको पोस्टरहरु पाइलैपिच्छे भेटिन्छन् । तर, भाडा सोधेमा मासिक एउटा कोठाको दश हजार, एक फ्रल्याटको तीस हजारदेखि दुई लाख र सटरको एक लाखदेखि नौं लाखसम्म भाडा बताइन्छ । उपत्यकाभित्र होस् या बाहिर विभिन्न जिल्लाबाट आएर बसेकाहरु अहिले व्यापार यवसाय ठप्प भएपछि, काम नपाएपछि आत्तिएका छन् । उनीहरु खर्च कसरी धान्ने भनेर चिन्तित छन् । काठमाडौंको इन्द्रचोक, भोटाहिटी, चावहिल, बानेश्वर, ठमेललगायत स्थानमा अहिले पहिलाजस्तो चहलपहल छैन ।

व्यापारीहरु बाटोमा हिँडिरहेका व्यक्तिलाई पसलको ढोकामा बसेर सामान किन्न फर्काइरहेका हुन्छन् । यो देख्दा मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर जोकोहीले पत्ता लगाउँछ । व्यापारीहरु वर्षो दिनदेखि घरधनीलाई भाडा तिर्न नसकेको बताउँछन् । यता, बैंक तथा वित्तियबाट लिएको ऋणको पनि साँबाब्याज तिर्न सकेका छैनन् भने कामदारहरुलाई धमाधम निकालेका छन् । दशैंमा ल्याएको सामान बिक्री नभएपछि व्यापारीहरुले तिहारमा सामान नल्याउने निर्णय गरेका छन् । एकातिर सामान बिक्री हुन्न, अर्कोतिर पैसा पनि छैन ।

अहिले अधिंकाश व्यापारीले अब व्यापारव्यवसाय चल्दैन भनेर थाहा पाइसकेका छन् । एक वर्षअघि मानिसहरुले बोराको बोरा चामल किनेर लग्थे । अहिले किलोमा लग्छन् । बजारमा माछामासु, दहीदूध र फलफूल पसलेहरु भन्छन्, ‘ग्राहक नै आउँदैनन् । आएपनि पहिला किलो लग्नेमा अहिले पाउ वा आधा लग्छन् ।’ बिगमार्केट, सुपरमार्केट, भाटभटेनीलगायत पनि सुनसान छ । हार्डवेयर पसल, लुगा पसल, दोहोरी साँझ, ब्युट्री पार्लर, होटल, रेस्टुरेन्टहरुको पनि यही हालत छ । बैंक तथा वित्तिय संस्था पनि घाटामा गएको छ । बैंकमा बचत गर्नेभन्दा डिपोजित निकाल्नेको भीड छ । घरजग्गा, गाडी र सेयर लगानीकर्ताको पनि अवस्था नाजुक भएको छ ।

पछिल्लो समय बजारमा घरजग्गा, गाडी र सेयर कसैले किन्दैन । यातायात र मालपोत कार्यालयमा चहलपहल छैन । सहकारीहरुले पनि कतिन्जेल बचतकर्तालाई झुठा आश्वासन देखाएर राख्ने ? बचत फिर्ता गर्न नसकेका अधिंकाश सहकारीले बचतकर्तालाई आफ्नो संस्थाको नाममा धेरै घरजग्गा, गाडी र सेयर रहेको त्यही बेचेर भएपनि बचत फिर्ता गर्ने भनेर आश्वासन बाँडेका छन् । तर, अहिलेसम्म एक रुपैयाँ पनि बचतकर्ताको फिर्ता गरेका छैनन् । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले डुबाइदिएको छ । मुलुकभर दर्तामा रहेकामध्ये धेरै सहकारी बन्द भएका छन् । बाहिर बोर्ड झुण्डिएपनि सहकारीहरु भने रातारात फरार भएका छन् । बजारमा सर्वसाधारण र व्यापारीले सहकारीमा बचत गर्न छोडेका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्ने आधार नै छैन । सहकारी भन्छ, ‘हामी संस्थाको घरजग्गा, गाडी र सेयर बेचेर बचतकर्ताको रकम फिर्ता गछौं ।’ तर, बजारमा यो किन्ने पनि त कोही हुनुपप्यो नि । घरजग्गा, गाडी र सेयरको मूल्य दलालीले बढाएको भनेर कसलाई थाहा छैन र ।

अहिले आर्थिक मन्दीसँगै घरजग्गा, गाडी र सेयरको कारोबार पनि खस्किदैँ गएको छ । जसले गर्दा यसको मूल्यमा समेत असर परेको छ । अर्थविद् एंव विज्ञहरु अब झन् घरजग्गा, गाडी र सेयरको मूल्य घट्ने बताउँछन् । दलालीहरुले हिजो बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सय पुप्याए, भारतमा पाँच लाखमा बनेको गाडी नेपालमा ५० लाखमा बेचे त एक लाख आनाको खेतीयोग्य जमिन ८० लाख पुप्याइदिए । तीनै दलालीहरुको आज भागाभाग भएको छ ।

बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेपछि कतिपय मुलुकै छोडेर रातारात फरार भएका छन् भने कतिपयले आत्महत्याको बाटो समेत रोजेका छन् । सवारीसाधन सञ्चालन गर्दा पेट्रोल र डिजेलको आवश्यक पर्छ । पेट्रोल व्यवसायीहरु पाँच सय र हजारको नोट नदेखेको महिनौं दिन भएको बताउँछन् ।  उनीहरुको भनाई र बजारको अवस्थाअनुसार पाँच सय र हजारको नोट व्यक्तिहरुले आआफ्नो घरमा लुकाइसकेका छन् । माडवाडीहरुले बैंक तथा वित्तिय संस्थामा भएको आफ्नो रकम निकालिसके । तिर्नुपर्ने ठाउँमा भने नतिरी आफ्नो देश फर्किएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र ठीकठाक छ भनेर जतिसुकै भाषण वा आश्वासन बाँडेपनि अब जनता पत्याउँदैनन् । जनताले सरकारलाई कर तिर्न छोडिसके । दशैंमा पनि सरकारले विदेशीसँग ऋण लिएर सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता र पेन्सन दियो । विदेशी ऋण २६ खर्ब पुगिसक्यो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । नेपालको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ । यी सबै नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । सरकारले विदेशीसँग लिएको ऋणको साँबाब्याज तिर्ने आधार नै छैन ।

राज्यको ढुकुटीमा राजस्व संकलन हुदैँन । जसोतसो संकलन भएको राजस्वले सरकारी खर्च धान्दैँन । अनि कसरी विदेशी ऋणको साँबाब्याज तिर्छ सरकारले ? अहिले हेर्दाहेर्दै बैंक, सहकारी र जनता सबै डुबेका छन् । राजनीतिक दल र सरकार भने अझै पनि जनतालाई ढाट्ने र अल्मल्याउने काम गरिरहेको छ । बजारमा महंगीले सीमा नाघेको छ । काम नपाएपछि मानिसहरु कोठाको सामान लिएर आफ्रनै घरगाउँ फर्किएका छन् । बाटोमा पनि मानिसहरुको चहलपहल निकै कम छ । साँझ ५ नबज्दै उपत्यका सुनसान हुन पुग्छ । मठमन्दिर, सडकपेटीहरुमा माग्ने मानिसहरुको संख्या बढ्दो छ । लुटपाट, चोरीजस अपराधिक घटना पनि दिनप्रति दिन बढ्दै गएको छ ।

सार्वजनिक स्थल, चिया पसलहरुमा देश बचाउन मंसिर ७ गते घरघरबाट सडकमा आउनुपर्ने भनेर सर्वसाधारणले भनिरहेको भेटिन्छ । सहकारीले बचत फिर्ता नगरेपछि हजारौंको संख्यामा पीडितहरु सडकमा उत्र्रिए । आन्दोलनको ठूलो रुप लिने भएपछि सरकारले तत्काल उनीहरुलाई वार्तामा बोलाएर सात बुँदे सहमति गप्यो । तर, न बचत फिर्ता नगर्ने सहकारीको सञ्चालकलाई जेल हाल्यो न बचतकर्ताको रकम फिर्ता गर्न केही गप्यो । अहिले सहकारीका सञ्चालक तथा कर्मचारीहरु बचतकर्ताले कुट्छ वा प्रहरी चौकीमा बुझाउँछ भनेर मुखमा मास्क लगाए लुकीलुकी हिँडेका छन् । जनताले अब सहकारीमाथि विश्वास गर्नुहुन्न । सकेसम्म सहकारीबाट आफ्नो रकम पनि छिटो निकाल्नुपर्छ र अरुलाई पनि नराख्न सुझाव दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।