0 COMMENTS

असोज २९, काठमाडौँ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । अहिले नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

वर्षा तथा हिमपातका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।