0 COMMENTS

असोज ११, काठमाडाैँ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो । विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्‍याएर विरलै मात्र आउने छ ।

उद्घाटन खेलमा नेपालसामु उत्रेको थियो मंगोलिया । मंगोलिया त्यस्तो टिम थियो, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलिरहेको हो । खेल स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने क्रममा थियो । मंगोलियाले पहिलो ब्याटिङ गरेको भए खेल निकै चाँडै टुंगिने डर थियो ।

नेपाल आफैंले पनि टस जिते पहिले बलिङ गर्ने योजना बनाएको थियो । तर, टस जितेर मंगोलियाले ठूलो मुटु देखायो र नेपाललाई ब्याटिङको निम्तो दियो । यो यस्तो निर्णय रह्यो, जसले क्रिकेटका अनेक दुर्लभ कीर्तिमान भंग गर्न मदत गर्‍यो । नेपालले यस क्रममा २० ओभर उपयोग गर्दै ३ विकेट गुमाई ३ सय १४ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले ३ सय रन छोएको यो नै पहिलोपल्ट थियो । पछिल्लो समय ट्वान्टी–२० मा आक्रामक ब्याटिङको क्रम बढ्दो छ । यस्तोमा धेरैको अनुमान के थियो भने अब तीन सयको स्कोर पनि चाँडै बन्नेछ ।

नेपालले यही काम गर्‍यो । यसको एउटा प्रमुख कारण नेपालले २६ छक्का प्रहार गर्न सक्नु हो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा यति धेरै छक्का बनेको यो पहिलोपल्ट हो । अब ठूलो स्कोर खडा भएपछि जित–हारको अन्तरमा पनि कीर्तिमान बन्ने नै भयो । साँच्चै नेपाल २ सय ७३ रनले विजयी रह्यो । मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर अलआउट भयो ।

नेपालले त्यसमा अतिरिक्तमा २३ रन खर्चेको थियो । सम्भवत: नेपालले सुरुमा केही सुस्त ब्याटिङ गरेको थियो, नत्र स्कोर अझ ठूलो हुन सक्थ्यो ।

कप्तान रोहित पौडेल के मान्छन् भने पिच दुवै टिमका लागि नयाँ थियो, त्यसैले यो स्वाभाविक पनि हो । ‘यति ठूलो स्कोरमा गुनासो गर्नुहुन्न, एकै पल्टमा चार सय, पाँच सय रन बन्दैन नै,’ उनले मुसुक्क हाँसेर प्रतिक्रिया दिए ।

यी सबैमध्ये सबैभन्दा सानको कीर्तिमान दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको नाममा रह्यो । दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए । यो यस्तो कर्तिमान हो, जुन अब कहिले भंग हुने छैन, बराबरमात्र हुन सक्नेछ । अर्धशतक बनाउन कम्तीमा ९ बल खेल्नैपर्ने हुनाले दीपेन्द्रको कीर्तिमान अजयी बन्नेछ । दीपेन्द्रले युवराज सिंहले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमान उछिन्ने क्रममा लगातार ६ छक्का पनि प्रहार गरेका थिए ।

दीपेन्द्र १० बलमा ५२ र कुशल ५० बलमा १ सय ३७ रन बनाएर अविजित रहे । कुशलले ३४ बलमै शतक बनाएर भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका विक्रम शेखरको नाममा रहेको ३५ बलको शतकलाई भंग गरे । कुशलले ८ चौका र १२ छक्का प्रहार गरे । कुशल भुर्तेल २३ बलमा १९ र आसिफ शेख १७ बलमा १६ रन बनाई आउट भएपछि कुशल मल्ल र रोहित पौडेल जागेका थिए ।

कुशल मल्ल र रोहित दुवैले समान १९ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले दोस्रो ५० रन बनाउन केवल १५ बल खेले । रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरी ६३ रन बनाए । रोहित १९ औं ओभरको पहिलो बलमा आउट भएपछि आएका दीपेन्द्रले त्यो ओभरको बाँकी ५ बलमै छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशलले १ रन लिएपछि स्ट्राइकमा आएका दीपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै लगातार ६ छक्का प्रहार गरे । आफूले सामना गरेको सातौं बलमा २ रन जोडेका दीपेन्द्रले त्यसपछि लगातार दुई छक्का प्रहार गरी अविश्वसनीय हिसाबमा ९ बलमा अर्धशतक पूरा गरे ।

खेलपछि कप्तान रोहितले दीपेन्द्र र कुशलको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले निकै राम्रो ब्याटिङ गरे । हामी सबैले लगातार सजिलो बल पाइरहेका थियौं । समग्रमा भन्दा टिमले निकै राम्रो गर्‍यो । खासमा हाम्रो उद्देश्य अर्को चरण पुग्नै नै हो । हामी यही नीतिमा अडिग छौं ।’

नेपालका लागि क्रिकेटमा यो जितको अर्को अर्थ पनि छ । यो विशेष छ । पूरा एसियाडमा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शन कमजोर छ । नेपाली खेलाडी अधिकांश अवसरमा अन्तिम स्थानमा परेका छन । होइन भने नेपाली खेलाडीले बेहोरेको हारको क्रम चर्को छ । त्यसको ठीक विपरीत नेपालले चेचियाङ युनिभर्सिटीको मैदानमा प्राप्त जित उल्टै एकपक्षीय रह्यो । यसले नेपाली खेलकुदलाई धेरै राहत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।