0 COMMENTS

भदाै ६, धादिङ । काठमाडाैँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

दुई  महिला सहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा  घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । 

एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् । बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।