0 COMMENTS

साउन १७, काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउन बुधबार एक दिन विद्यालय बन्द गर्ने भएको छ । संक्रमण व्यापक भएपछि उपमहानगरले सबै शैक्षिक संस्थामा बिदा दिएर शिक्षक–विद्यार्थीलाई ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानमा सहभागी गराउने भएको हो ।

जनस्वास्थ्यविद्हरूले धरानमा डेंगी नियन्त्रण बाहिर गएको चेतावनी दिएकाले उपमहानगरले नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । स्थानीय सरकारले डेंगी नियन्त्रणमा चासो नदेखाएको भन्दै आलोचना भएपछि उपमहानगर प्रमुख हर्कराज साम्पाङले मंगलबार कार्यपालिकाको आकस्मिक बैठक बोलाएका थिए । बैठकले बुधबार विद्यालय बिदा दिएर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाउने निर्णय गरेको हो ।

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडाका सामुदायिक संस्था, टोल विकास समिति, समुदाय एकसाथ टोलटोलमा परिचालित हुन अपिल गरेको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले डेंगी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन बिदा दिइएको बताए । धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामका अनुसार वडाहरूमा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि डेंगी सार्ने प्रजातिको लामखुट्टेको उद्गमस्थल नष्ट नगरेसम्म नियन्त्रण नहुने देखिएकाले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको हो । धरानका २० वटै वडामा बुधबार बिहान ७ बजेदेखि एकसाथ उक्त अभियान चलाइने उनले बताए ।

धरानमा जेठ तेस्रो सातायता डेंगी संक्रमणबाट एक बालिकासहित ८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढेपछि निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा बिरामीले बेड पाउन सकेका छैनन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १५ सम्म ४ हजार २ सय १८ जनाको परीक्षण गर्दा २ हजार ४ सय ९५ जनामा डेंगी पाइएको छ । उनका अनुसार यो तथ्यांक उपमहानगरअन्तर्गतका स्वास्थ्य चौकी र वडाले सञ्चालन गरेका शिविरमा जँचाएकाहरूको मात्र हो । डेंगी यहाँका सबै वडा र टोलमा फैलिएकाले करिब १२ हजारभन्दा बढी संक्रमित भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।