0 COMMENTS

साउन १७, काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् । उनले भने, “त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको हो ।”

हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मार्क्सवादको आधारभूत मान्यतामाथि गरेको हमलाप्रति इङ्गित गर्दै उनले भने, “मार्क्सवाद, लेनिनवाद, माओवाद भन्ने, दीर्घकालीन जनयुद्ध पनि भन्ने तर, हददर्जाको दक्षिणपन्थी अवसरवादी/संशोधनवादी चरित्र देखाउने । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँगिएको छ । यसलाई चिरेर क्रान्तिकारी अगाडि बढ्नुपर्छ ।”

अध्यक्ष किरणले देश, समाज र पार्टी बनाउने दायित्व युवाहरूको भएको भन्दै उनले आफूभित्रका अन्तरविरोध हल गर्दै नयाँ ढङ्गले क्रान्तिको तयारीमा लाग्न युवाहरूलाई निर्देशन दिए । सङ्ख्यामा थोरै भएपनि क्रान्तिकारी युवाहरूको भविष्य उज्वल रहेको पनि बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो बताएका हुन् । एकता भेलाको उद्घाटन सत्र मङ्गलबार काठमाडौँको नयाँ बसपार्कस्थित तमु हलमा सम्पन्न भएको थियो ।

एकता भेलामा पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा युवाका फ्र्याक्सन इन्चार्ज दिपक, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरूले शुभ-कामना तथा वैचारिक राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

एकता भेलाको अध्यक्षता हरिश भट्ट, सञ्चालन तिलक अधिकारी र स्वागत अविनाश कुवरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।