0 COMMENTS

जेठ २९, काठमाडाैँ । सरकारले यस वर्षको बाढीपहिरोबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिसहरु प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए । पहिलेका तथ्याङ्कअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् । यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर रहेका छन् ।

हिजो आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । प्राधिकरणकाअनुसार मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गतका खोज उद्धार जनशक्ति र विभिन्न निकायअन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सात वटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।

देशका ३४ ठाउँमा जोखिमको सूचना दिने स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार गाडी तथा एम्बुलेन्सहरू खरिद गरी ७ वटै प्रदेश र काठमाडौँ उपत्यकामा १-१ वटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको पनि प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।