0 COMMENTS

जेठ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात रहेको भन्दै उक्त घटनाको घोर निन्दा तथा तीव्र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस–वक्तव्य जारी गर्दै नेपाली शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध देशको स्वाभिमान तथा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउन आम देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गरेका छन् ।

वक्तव्यमा प्रवक्ता कञ्चनले भनेका छन्, ‘पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपाल सरकारले नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गरेको छ । यसलाई ‘उनलाई नेपालबाट पक्रिएर थप अदालती कारबाहीका लागि दिल्ली ल्याइँदैछ’ भन्ने गत जेठ ७ गते राँचीबाट प्रकाशित न्यु इन्डिया एक्सप्रेसमा एकजना पुलिस अधिकृतलाई उद्धृत गरेर प्रकाशित गरेको समाचारले पुष्टि गर्दछ ।’

कञ्चनको वक्तव्यमा भनिएको छ, ‘नेपाल र भारत सरकारका बीच सुपुर्दगी सन्धि नगरिएको सन्दर्भमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा गरिएको सुपुर्दगीको यो परिघटना भारतीय शासक वर्गलाई खुसी पार्न गरिएको एउटा गम्भीर राष्ट्रघाती कार्य हो । हाम्रो पार्टी यस परिघटनाको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ ।’

प्रवक्ता कञ्चनले नेपाली शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध देशको स्वाभिमान तथा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउन आमदेशभक्त नेपाली जनतालाई हार्दिक आह्वान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।