0 COMMENTS

जेठ ४, काठमाडौँ । नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । उडान तालिकाअनुसार काठमाडौँ – क्वालालम्पूर – भैरहवा – काठमाडौँ सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार  नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराउन लागिएको हो  ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहल रहेको निगमले जानकारी दिएको छ । मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

यसैगरी निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्दैछ । यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौँदेखि जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौँ वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।