0 COMMENTS

कात्तिक २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।

पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिका कारण जेन्जी बिद्रोह भएको चर्चा बताउँदै जेनजी विद्रोहपछि बनेको सरकार पनि विदेशीको कठ्पुलती भएकोले राष्ट्रिय स्वाधीनत संयुक्त सरकारको नारा अगाडि सारिएको स्पष्ट पार्नुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई निकास दिनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वाधीन संयुक्त सरकारको नारा दिनुपर्ने परिस्थिति विकसित भएकोले पार्टीले बैठकबाट निर्णय गरेर अगाडि सारिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “आज आम जनता नै यो व्यवस्थाको विरुद्ध उत्रने स्थिति बनेको छ । जनताको राजनीतिक स्तर र देशको स्थितिलाई हामीले नजिकबाट हेरेका छौं । र, परिस्थितिको विश्लेषण गरेर नै राष्ट्रिय स्वाधीन संयुक्त सरकारको नारा अगाडि सारेका हौं ।” उहाँले यो नारासँग सहमत हुने अन्य क्रान्तिकारी पार्टीहरुसँग पनि कार्यगत एकता, संयुक्त मोर्चा बनाउँदै पार्टी एकतासम्मका लागि पहल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले अहिलेको विषम परिस्थितिमा तीन करोड जनतामै यो नारालाई पु¥याउनुपर्ने आवश्यकता रहेकोले मिडिया र पत्रकारलाई पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।

उहाँले नेपालको कम्युनिस्ट आन्दोलन तथा राजनीतिक आन्दोलनमा नैतिकताको ठूलो खडेरी रहेको चर्चा गर्दै कमरेड किरण र आफूले देखाएको नैतिकता र त्यागकै कारण प्रचण्ड पार्टीको महामन्त्री हुन सकेको पनि स्मरण गर्नुभयो । त्यतिबेला इमान्दार लाग्ने प्रचण्डले गरेको धोका, गद्दारी, आत्मसमर्पणकै कारण जनयुद्धले धक्का खान पुगेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले पद, पैसा र सम्पत्तिको लागि मरिहत्ते गर्ने रोग कम्युनिस्ट आन्दोलनमा पनि मौलाएको छ । कम्युनिस्ट आन्दोलनभित्रका प्रतिक्रियावादीहरुलाई बेलैमा चिन्न नसक्दा क्रान्तिले धक्का खान पुग्ने रहेछ । जनयुद्धले धक्का खानुपरेको बाह्य कारणले होइन, आन्तरिक कारणले नै हो ।”

उहाँले प्रचण्डलाई सच्याउन साढे ६ बर्ष अन्तरसंघर्ष गरेको र अन्ततः नसच्चिने देखिएपछि विद्रोह गरेर क्रान्तिको झण्डा उठाएको पनि बताउनु भयो । क्रान्ति, विद्रोहको युग सकियो, अब हुँदैन भन्दै संसदीय भाषमा जाकिएकाहरुलाई जेनजी विद्रोहले सान्दार जवाफ दिएको भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्या क्रान्ति वा जनविद्रोहबाहेक अरु तरिकाबाट हल नहुने ठोकुवा गर्नुभयो । र, उहाँले जेनजी विद्रोहले यथास्थितिलाई बदल्न नसकेको खण्डमा नेपालमा अझ ठूलो जनविद्रोह हुने चेतावनी पनि दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट तयार पारिएको प्रेस वक्तव्य पार्टीका स्थायी समिति सदस्य तथा सूचना सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले वाचन गरेर सुनाउनु भएको थियो ।

वक्तव्यमा लेखिएको छ, “(१) नेपालको इतिहासमा थुप्रिएर बारुद बनेको भ्रष्ट्राचार, जनअसन्तुष्टी, तत्कालीन केपी ओली सरकारद्वारा बन्द गरिएको सामाजिक सन्जालको मुद्दालाई लिएर जेनजेड विद्रोह विस्फोट भयो । तर यो विद्रोह पराई शक्तिद्वारा अपहरित भयो । बर्षीय महान् जनयुद्धमाथि विध्वंश र आतंकको बिल्ला भिराउने देशी–विदेशी प्रतिक्रियावादीहरुले दुई दिनमै ९५ खर्ब भन्दा बढीको सम्पत्ति तथा सम्पदा विध्वंश गरे र ७६ जना जनताका छोराछोरीहरुको रगतमाथि होली खेल्दै कठपुतली सुशीला सरकार खडा गरे । हाम्रो पार्टीले आफ्नो राष्ट्रिय एकता महाधिवेशनमा नेपाल अर्थसामाजिक हिसाबले नवऔपनिवेशिक देश हो भनी गरेको संश्लेषण यस घटनाले अझै दिनको घाम जस्तै छर्लङ्ग पारेको छ । यो अर्थसामाजिक अवस्थाका आधारमा खडा भएको दलाल पूँजीवादी राज्यसत्ताको तमासा पनि यो अस्थायी सरकारका रुपमा अभिव्यक्त भएको छ । यसले नेपाली जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र संचारका समस्याहरुलाई अझ विकराल बनाएको छ । यो नवऔपनिवेशिक जंजीरलाई चक्नाचूर पारेर सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र समुन्नत देश बनाउन यो कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार बनाउनुपर्दछ भन्ने हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रस्ताव रहेको छ । यसको लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी जनवादी र वामपंथी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गरी संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ । यो संयुक्त मोर्चाले जनसंघर्ष तथा जनाआन्दोलन अघि बढाएर नेपाली शोषित–उत्पीडित जनताको घनिभूत सहयोग र समर्थनबाट स्वाधीन संयुक्त सरकारको गठ्न् गर्नुपर्दछ । यो सरकारले एउटा जनगणा संविधान बनाई देशलाई जनआकांक्षा अनुसार अघि बढाउनुपर्दछ ।

२) तत्काल माथि उल्लेखित लक्षलाई अघि बढाउन हाम्रो पार्टीले निम्न अनुसार संघर्षको कार्यक्रम घोषणा गर्दछ ।
क) पार्टीले ‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं !’ भन्ने मूल नारा तय गरेको छ ।
ख) २०८२ कार्तिक २३ गते पत्रकार सम्मेलन गर्ने ।
ग) २०८२ कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने ।
घ) मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने ।
ङ) मंसिर ७ गते महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ बजार, पोखरा, भरतपुर, विदुर, काठमाडौँ, धुलिखेल, विरगन्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरु गर्ने ।
च) मंसिर महिनाभरी भ्रष्ट्राचारी र दलालहरुको भण्डाफोर गर्ने ।
छ) पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने ।
पत्रकार मित्रहरु, विभिन्न तह र तप्काका जनसमुदायहरु ! यी संघर्षहरुमा तपाईहरुको समर्थन र सहयोगको अपेक्षा गर्दछौं । माथि उल्लेखित कार्यक्रमको समीक्षापछि हामी आगामी कार्यक्रम तय गर्नेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।