कात्तिक १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ वटा वाम घटक र संगठनहरु सम्मिलित संयुक्त संघर्ष समितिले साम्राज्यवादी र विस्तारवादीहरुले आफ्ना दलालहरुमार्फत् नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि हमला गर्ने र नेपालको अस्तित्वमाथि नै धावा बोल्ने स्थिति बनेपछि मङ्गलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रतिकूल मौसमका बाबजुद संयुक्त संघर्ष समिति, नेपालको आयोजनामा “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौँ ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔँ !” भन्ने नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरु एक जुट हुनपर्ने बताए । साम्राज्यवादीहरु घर घरै आइपुगेको स्पष्ट गर्दै नेपालीले सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवाद र विस्तारवादको मिलेमतोमा बनेको सरकार हो उनले भने, । नेपाललाई विदेशीहरुले रणमैदान बनाउन खोजेको हुँदा देशलाई त्यो स्थितिमा पुग्न नदिन संघर्षको मैदानमा आउनुपर्ने नेपालीको भनाई थियो । उनले देशको आजको स्थिति आउनुमा देशका दलाल पार्टीहरु जिम्मेवार रहेको पनि स्पष्ट गरे ।
नेकपाका संयोजक लोकनारायण सुवेदीले अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार दलाल पुँजीवादले नेपालका दलाल नेताहरुलाई संचालन गरिरहेकोले देश बचाउने आन्दोलन आवश्यक रहेको बताए । नेकपा (बहुमत) का बद्री चौलागाईले संसदीय व्यवस्थालाई फालेर राष्ट्रिय स्वाधीन सरकार बनाउनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका रुपा सुनार, कम्युनिस्ट समाजवादीका इन्दिरा अधिकारी, अर्का नेकपाका रामबहादुर भण्डारी, समाजवादी कम्युनिस्ट पार्टीका हरिकृष्ण गजुरेल, रेड फोर्सका सि.वि.सिंह, अशोक सुवेदी लगायतले मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन नेकपाका नेता नारायण शर्माले गरेका थिए ।
