0 COMMENTS

कात्तिक ११, काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो ।

विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ । आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।