0 COMMENTS

भदाै ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट जनवर्गीय संगठनहरुले भाद्र २३ र २४ को जेन्जी आन्दोलन, ओली नेतृत्वमा रहेको काँग्रेस – एमाले गठबन्धन सरकारको विघटन र त्यसपछि सेनाको नियन्त्रणमा सत्ता पुगेको वर्तमान राजनीतिक अवस्थाबारे धारणा स्पष्ट गर्न संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

संयुक्त प्रेस वक्तव्यमा सीताराम तामाङ, (अध्यक्ष, क्रान्तिकारी किसान महासङ्घ, नेपाल, केन्द्रीय समिति), पवनमान श्रेष्ठ, (अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ), ईश्वर तिमिल्सिना (संयोजक, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल, रा.स.आयोजक समिति), भीम चापागाईं, (संयोजक, क्रान्तिकारी सुकुम्वासी सङ्घ, नेपाल, रा.स. आयोजक समिति), टेकबहादुर विक, (संयोजक, क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल, रा.स.आयोजक समिति) र महेश श्रेष्ठ (संयोजक, अखिल (क्रान्तिकारी), रा.स.आयोजक समिति) ले हस्ताक्षर गर्नु भएको छ । २०८२ भदौ २७ गते जारी प्रेस वक्तव्यको पूर्ण पाठ : –

“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट जनवर्गीय संगठनहरुका प्रतिनिधिहरुले देशमा विद्यमान भ्रष्टाचार र कुशासन अन्त्य गर्नका लागि संघर्ष गर्दै आएको जगजाहेर छ । तर सरकारको जनविरोधी कृयाकलापले सीमा नाघ्दै गएको अवस्थामा सामाजिक संजालमाथि लगाईएको प्रतिवन्ध फुकाइयोस भन्ने सामान्य माग लिएर सडकमा ओर्लिएका जेन–जी पुस्तामाथि सरकारले बर्बर आक्रमण गरेर २४ गते भाद्रमा १९ जनाकोज्यान लियो र चारसय भन्दा बढीलाई घाइते तुल्यायो र त्यसपछि घटेका घटनाहरुले हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ ।

१) जेन–जी आन्दोलनले ओली–देउवाको राष्ट्रघाति र जनविरोधी सरकारको पत्तासाफ गरेको छ । त्यसलाई हामीले सकारत्मक रुपमा लिएका छौं । तर सरकारको बर्बर आक्रमणमा परी आन्दोलनमा सहादत प्राप्त गर्ने नौजवान युवाहरुप्रति श्रद्दाञ्जली अर्पण गर्दछौं र घाइतेहरुको सुस्वास्थ्यको कामना गर्दछौं ।

२) भदौ २४ गते आन्दोलनले अर्कै रुप लियो । सिंहदरवार, सर्वोच्च अदालत जस्ता सरकारी संरचना र त्यहाँ रहेका महत्वपुर्ण दस्तावेजहरु जलाउदा देशका सेना रमिते बनेको देखियो । जेन–जी आन्दोलनमा देशी, विदेशी प्रतिकृयावादी शक्तिहरु घुसपैठ भए । संसदवादका भ्रष्टाचारी नेताहरु सेनाको शरणमा परेको छ । सेनाले शान्ति–सुरक्षाको जिम्मा मात्र लिइको छैन, नयाँ सरकार बनाउने खेल पनि सुरु गरेको छ । यसरी हेर्दा जेन–जीको अग्रगामी एजेन्डाको आन्दोलन पश्चगामी षडयन्त्रको सिकार हुन पुगेको देखिन्छ ।

३) यो परिघटनाले मुलुकलाई प्रतिगमनतिर धकेलेको छ । जनताले सङ्घर्ष गरी प्राप्त गरेको सीमित लोकतान्त्रिक अधिकार विरुद्ध प्रतिक्रान्ति भएको छ । खास गरी जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त भएका गणतन्त्रसहितको नागरिक सर्वोच्चता अपहरण भएको वर्तमान राजनीतिक स्थितिमा अग्रगामी निकासको खाँचोछ । त्यो अग्रगामी निकास भनेको नयाँ जनवादी क्रान्तिको खुँड्किलोपार गर्दै वैज्ञानिक समाजवादको दिशामा मुलुकलाई अघि बढाउँनु हो । यो महान् अभियानमा सम्पूर्ण देशभक्त, जनवादी क्रान्तिकारी जनसमुदायलाई साथ र सहयोग दिन हार्दिक अपिल गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।