0 COMMENTS

साउन ६, चितवन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आज (मङ्गलबार) बाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँच सय २५ रुपैयाँ कायम गरिएको छ । मध्यम चार सय ९५ रुपैयाँ कायम भएको छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को तीन हजार ८५५ रुपैयाँ र मिडियमको तीन हजार ६४५ कायम गरिएको छ । अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१० रुपैयाँ पुगेको थियो । योसँगै किसानले लागत मूल्य पाएको उनको भनाइ छ । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए ।

मूल्य बढ्दा किसान उत्साहित भएका छन् । एकिन तथ्याङ्क नभए पनि हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।