असार १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले समितिमा एउटा कुरा पारित गरेर विधेयकमा अर्को कुरा लेखिनु गम्भीर प्रकृतिको अपराध भन्दै छानबिनको माग गरेको छ । राज्य व्यवस्था समितिका सदस्य र अन्य सांसदहरूले मङ्गलवार सभामुख देवराज घिमिरेसँग गरेको भेटमा माओवादीले विधेयकमा भएको छेडखानीबारे पहिला छानबिन गर्नुपर्ने माग गरेको हो ।
निजामती सेवा विधेयकमा जालझेल गरिएको भन्दै माओवादीले छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको छ । सभामुखसँगको छलफलपछि माओवादी उपमहासचिव जनार्दन शर्माले विधेयकमा गरिएको किर्ते नियतबस भएकोले यसको छानबिन गर्नुपर्ने बताएका हुन् । ‘राज्य व्यवस्था समितिले एकथरि विषय पारित गरेर अर्कोथरि प्रतिवेदन बनायो । यसमा सरासरी र नियतबस गलत काम भएको छ । सभापतिले मेरो जानकारीबिना भयो भन्नुभएको छ सचिवले स्वाभाविक भयो भन्नुभएको छ’ शर्माले भने, ‘संसद्को उपहास गर्ने जुन षड्यन्त्र गरियो, यसको छानबिन हुनुपर्छ । सचिव, सभापति या समितिले जिम्मेवारी लिनुपर्छ ।’
आइतवार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । उपमहासचिव शर्माले संसद्प्रति अविश्वास उत्पन्न भएकोले छानबिन गर्नुपर्ने बताए । ‘त्यो विषय सच्याउनु त पर्छ नै । गम्भीर प्रकृतिको अपराध भएकोले त्यसको छानबिन पनि हुनुपर्छ,’ शर्माले भने ।