कात्तिक १२, काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपरले भारतका दुई प्रहार रोकिन् भने नेपालका चारै खेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् ।
त्यसअघि तनावपूर्ण खेलमा भारतको सुरुवाती अग्रता सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । करिब डेढ घण्टासम्म रोकिएको खेल फेरि सुरु भएको थियो । भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि उत्पन्न विवादका कारण खेल डेढ घण्टा रोकिएको थियो । तर, फेरि रोकिएकै स्थानबाट खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।
त्यसअघि नेपालकी रेखा पौडेल रातो कार्ड खाँदै बाहिरएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालले अब बंगलादेशसँग फाइनल खेल्नेछ ।