साउन २, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । मङ्गलबार वर्तमान सत्तासमीकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन् बढेर गएको छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धन मुलुकका लागि हानिकारक रहेको बताएको छ । अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, ‘यो गठबन्धन र केपी ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ ।’
ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको अध्यक्ष केसीले बताएका छन् । ‘यसप्रकारको प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।