माघ २१, चितवन । विभिन्न राजनीतिक दलबाट विद्रोह गरी नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालय चितवनमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लगायत विभिन्न राजनीतिक दलबाट विद्रोह गरी केन्द्रीय सदस्य गणेश थापा ‘मिलन’ को नेतृत्वमा उल्लेख्य रूपमा नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
एकता पक्षधर समूहबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य गणेश थापा ‘मिलन’ व्युरो सदस्य पदम बिक, ब्युरो सदस्य राम प्रजा, ब्युरो सदस्य सुरेश प्रजा, ब्युरो सदस्य अनिल तामाङ, ब्युरो सदस्य साजन चौधरी र नेकपा (बहुमत) माडी नगरपालिका चितवनका इन्चार्ज राजकुमार परियार ‘अमृत’ लगायत नेता तथा कार्यकर्ता रहेका छन् ।
विभिन्न राजनीतिक दलबाट विद्रोह गरेर समाहित भएका क्रान्तिकारी जुझारू युवा नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका इन्चार्ज पथिकलगायत नेताहरूले खादा ओढाई स्वागत गरेका छन् । र, साथै इन्चार्ज पथिकले पार्टीमा समाहित भएकालाई कुनै किसिमकाे भेदभाव नगरी क्षमता र आवश्यकताका आधारमा सबैकाे जिम्मेवारी तय गरिने पनि बताए ।
विभिन्न राजनीतिक दलबाट विद्राेह गरी एकता पक्षधर समूहको नेतृत्व गरेका गणेश थापा ‘मिलन’ ले सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने इतिहासको ऐतिहासिक जिम्मेवारी आत्मसात गर्दै आजका मितिदेखि नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएको घोषणा गरे ।
यतिबेला विभिन्न राजनीतिक दलबाट विद्रोह गरी नेता/कार्यकर्ता तथा आम जनसमुदायहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने लहर चलिरहेको छ ।

