0 COMMENTS

फागुन १४, काठमाडौँ । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन् । पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ । 

महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा-आराधना गर्ने परम्पराछ । भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ । भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ । महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन् । भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ । कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने गरेको छ ।

नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ । भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।